सोनादा: उनी न ट्राफिक पुलिसमा काम गर्छन्। न उनलाई ट्राफिक समस्यासित कुनै सरोकार नै छ। तरै पनि उनलाई ट्राफिक व्यवस्था ठीक होस् भन्ने लागेको छ अनि तीव्र गतिमा कुदिरहेका गाड़ीहरूको चपेटमा परेर कुनै विद्यार्थी वा मानिसहरू ठूलो विपदमा नपरोस् भन्ने सोंच छ। उनलाई यो काम न सरकारले दिएको हो, न पुलिस विभागले नै। तरै पनि बिहान सही समयमा उनी यस स्थानमा आउँछन् अनि ट्राफिक सुविधाको लागि दिनभरि खट्छन्। दार्जीलिङको रगंबूल कोठीडाँड़ा निवासी पदम राईले विगत १५ वर्षदेखि यसरी नै समाज सेवा गरिरहेका छन्। उनको सबैभन्दा ठूलो विचार भनेको नै यस स्थान भएर पैदल हिँड़्ने विद्यार्थीहरूमाथि तीव्र गतिमा कुद्ने गाड़ीहरूले कुनै दुर्घट्ना नगरोस् भन्ने मात्रै हो। यस्तै सोंच पालेर नै पदमले यस स्थानमा सिभिक भोलेन्टियरहरू आउनअघि अनि उनीहरू ड्यूटी समाप्त गरेर फर्किएपछिसम्म ट्राफिक व्यवस्थाको लागि सहयोग गर्ने गरेका छन्। अन्य समय गाउँमा पानीको लाइन तथा फूलबारीको हेरचाह गर्ने पदमले रहल सम्पूर्ण समय नै निःशुल्करूपमा ट्राफिक समस्या समाधानको लागि खर्चिने गरेका छन्। जसको लागि उनलाई कसैबाट सहयोगको अपेक्षा पनि छैन।

रङ्गबूल कोठीडाँड़ा परिसरमा नै ट्राफिक समस्या समाधानको लागि सहयोग गर्ने पदमलाई आफ्नो यस समाज सेवामा पूर्ण सन्तुष्टि छ। झनै स्कूल गइरहेका कतिपय विद्यार्थीहरूले उनलाई सेल्युट गर्दा झनै उऩको छात्ती गर्वले फुलिने गरेको छ। यसैले त उनी भन्छन्-यहाँबाट स्कूल जाने विद्यार्थीहरूले मलाई सलाम गर्दा साह्रै घत लाग्छ। यसैले यस स्थान भएर स्कूल जाने विद्यार्थीहरूलाई केही नहोस् भनेर नै उनले यस स्थानमा निःशुल्क ट्राफिक समस्या समाधानको लागि सहयोग पुऱ्याइरहेको बताएका छन्।











