खरसाङ: नेपालीहरूको महान् चाढ दशैं तिहारको महत्व र यसको संरक्षण साथै सम्बर्ध्दनको उद्देश्य राखेर तीनधारेमा देउसी भैलो प्रतियोगिता अायोजना गरिएको छ। तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा सम्पन्न उक्त देउसी भैलौ प्रतियोगिता कार्यक्रममा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूले भाग लिएका थिए। देउसी भैलो प्रतियोगिता आयोजक समिति तीनधारेको आयोजनमा गत वर्ष झैं यस वर्ष पनि आयोजना गरेको उक्त प्रतियोगितात्मक कार्यक्रमको अध्यक्षता पूर्व शिक्षक एंव वरिष्ठ नागरिक कल्याण समिति तीनधारेको सचिव पूर्ण मास्केले गरेका थिए भने प्रमुख अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री उपस्थित रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा तीनधारे चियाबारीको मुख्य प्रबन्धक नितीस विश्वास, नेपालबाट आएका साहित्यकार लिलानाथ खत्री, घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधान, सुरेशचन्द्र दर्नाल, बिमल दर्जी, चन्दु भुसाल, रञ्जनकुमार रसाईली लगायत अन्यहरू उपस्थित रहेका थिए। गीतकार सुकुमार बराईलीले सञ्चालन गरेको उक्त देउसी भैलो प्रतियोगितामा स्वागत सम्भाषण आयोजक समितिको संयोजक सन्तोष लामाले राखेका थिए।

यस प्रतियोगितामा निर्णायकको रूपमा वरिष्ठ संगीतकार सुरेन बम्जन, संगीतको गुरु बरूण रसाईली, प्राध्यापक डा. अमीर ठटाल र समय सूचकको रूपमा पूर्व शिक्षक उत्तम गिरी उपस्थित रहेका थिए। उक्त प्रतियोगितामा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूले भाग लिएका थिए जसमा देउसीमा प्रथम प्रगति संघ मिठाईडाँड़ा, दोस्रो ग्राम कल्याण संघ बजार, तेस्रो मित्र संघ गोलाई पाखा भएका छन्। त्यसरी नै भैली प्रतियोगितामा प्रथम जनसेवा संघ राजबारी, दोस्रो प्रगति संघ मिठाईडाँड़ा र तेस्रो ग्राम कल्याण संघ बजार भएको छ। उक्त प्रतियोगिता अन्तर्गत देउसी र भैलोको लागि नै प्रथम हुनेलाई आकर्षक ट्रफीसहित नगदराशि सात हजार, दोस्रो हुनेलाई नगदराशि पाँच हजारसहित ट्रफी अनि तेस्रो हुनेलाई पनि ट्रफीसहित नगदराशि तीन हजार रूपियाँ प्रदान गरिएको छ। यस प्रतियोगितामा ट्रफी तीनधारे चियाबारीका मुख्य प्रबन्धक नितीस विश्वासले प्रायोजन गरेका थिए। तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूले देउसी र भैली प्रतियोगितामा आफ्नो आफ्नो प्रस्तुति दिएका थिए। यस कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा देउसी भैलो प्रतियोगिता आयोजना गरेर तीनधारेले राम्रो कार्य गरेको बताउँदै यो कार्य एकदमै सराहनीय रहेको बताए।

उनले आफ्नो तर्फबाट पनि पूर्ण साथ र सहयोग गरेको पनि बताए भने प्रतियोगितामा सामेल हुनेहरू सबैप्रति आभार प्रकट गरे। त्यसरी नै निर्णायकमा डा अमीर ठटालले आफ्नो सम्भाषण राख्दै नेपाली जाति संस्कार र संस्कृतिमा धनी रहेको बताउँदै देउसी भैलो हाम्रो जातिको छुट्टै परिचय हो र यसबाट हामीले हाम्रो जाति र संस्कृतिलाई संरक्षण र सम्बर्ध्दन गरेर लानु लानु पर्ने बताए। डा ठटालले हामी सबैभन्दा ज्ञानी जाति हौं तर केही भंगालिएका छौं। त्यसैले हामी एकतामा आएर लड़ाई झगड़ा नगरी एकतामा आएर बुध्दीलाई प्रयोग गरेर जातिलाई अघि लानु पर्ने कुरामा जोड़ दिएका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन सुप्रेम छेत्रीले राखेका थिए। कार्यक्रममा तीनधारेका सुपुत्रद्वय एंव नेपाली सांगीतिक जगतका ख्यातिप्राप्त गायकद्वय महेश सेवा र कर्म मोक्तानले पनि आफ्नो प्रस्तिति दिएका थिए। विशेष तीनधारेमा केही सक्रिय मानिसहरूका झुण्डले यसपालीको तिहारमा सबै मिलेर देउसी खेलेर पैसा संकलन गरी यो प्रतियोगिता आयोजना गरी देउसी भैलो जस्ता नेपाली संस्कृति जोगाउन कदम चालिएको बताइएको छ। उक्त प्रकारको कार्यक्रम आगामी वर्ष पनि आयोजना गरिने भएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको संयोजक सन्तोष लामा अनि विशिष्ट अतिथि लिलानाथ खत्रीले विस्तृत रूपमा बताएका छन्।











