कालचिनीः विगत वर्ष झैँ यसपालीको ऐतिहासिक हेमिल्टनगञ्ज काली पूजा मेलामा कालचिनी सृजनशील समूहले साहित्यिक पुस्तक पत्र पत्रिकाको स्टल राखेका छन्। ८९औँ काली पूजा मेला आफैमा ऐतिहासिक मिलन मेला रहेकोले डुवर्सभरीका मानिसहरूले यस मेलामा रमाईलो गर्न आउने गरेको र मेलामा अन्य रौनकतामाझ पुस्तक अध्यनमा रुचि राख्ने र नेपाली साहित्यिक पत्र पत्रिका, कथा सङ्ग्रह, उपन्यास एवम् कविता पढ़्न रुचाउनेहरूको निमित्त सृजनशील समूहले यो स्टल राखेको समूहका सचिव चन्दन भट्टराईले जनाएका छन्।
ज्ञात रहोस् गत १३ नोभेम्बरको दिनदेखि हेमिल्टनगञ्जको ऐतिहासिक काली पूजा मेलाको प्रारम्भ भएको थियो भने यसको उद्घाटन समारोहमा कालचिनी बीडीओ जयदीप चक्रवर्ती लगायत अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, कालचिनी विधायक विशाल लामा, विशिष्ट समाजसेवी गंगाप्रसाद शर्मा, बिरेन्द्र बारा उराँव एवम् अन्यान्य जनप्रतिनिधि अनि समाजसेवीहरूको उपस्थिति रहेको थियो। मेलाको उद्घाटन पश्चात नै कालचिनी सृजनशील समूहले बूक स्टलको उद्घाटन गरेको थियो। बूक स्टलको परिदर्शन गर्न शुक्रबार साँझ डुवर्स नेपाली साहित्य विकास समितिको मूलसचिव रबिन खवास, कोषाध्याक्ष तथा पत्रकार राजेश प्रधान, शिक्षक रतन थापा, चेङमारी उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार छेत्री, समाजसेवी बीरकुमार ऐतिहासिक हेमिल्टनगञ्ज काली पूजा मेलामा आएका थिए।
यस अवसरमा सृजनशील समूहको संस्थापक तथा संरक्षक एवम् वरिष्ठ साहित्यकार आसबहादुर सुब्बा, कवि ज्ञानलाल दर्नाल, कर्मा पब्लिकेशन प्रमुख तथा समूहको कोषाध्यक्ष नामग्याल लामा, चित्रकार सञ्जोग लामा र कर्मठ सदस्य चन्दन भुजेल र सचिव चन्दन भट्टराईले परिदर्शनमा आएका साथीहरूलाई स्वागत जनाएको थियो। कालचिनीमा सृजनशील समूहले ऐतिहासिक मेलाको रमझममा यो बूक स्टल राख्नु भनेको नेपाली भाषा, साहित्य र अध्यन संस्कृतिको संरक्षणमा मुख्य भूमिका निर्वाह गरेको बताए। मूलतः आगामी १२ दिनसम्म चल्ने यस मेलामा पुस्तक पत्रिका बिक्री गर्ने मात्र उद्देश्य नरहेको बरु किताब अध्यनमा मानिसको ध्यान आकर्षित गर्नलाई यो स्टल राखेको र यसले मेलामा साहित्य अस्तित्व कायम रहने समूहको सचिव चन्दन भट्टराईले थप जनाएका छन्।











