२० जुलाईः श्रीलंकाले पाकिस्तान समक्ष गाले टेस्ट म्याचको चौथो ईनिंग्समा जीतको निम्ति ३४२ रनको लक्ष्य दिँदा आयोजक टीमको जीत निश्चित मानिएको थियो। यसको पछि निश्चित कारण पनि रहेको छ। यस मैदानमा अहिलेसम्म टेस्ट म्याचमा २७० भन्दा अधिकको स्कोरलाई हासिल गर्न सकिएको थिएन तर श्रीलंका र जीतको अघि पर्खाल बनेर अघि आए पाकिस्तानका २२ वर्षीय अब्दुल्ला शफीक। आफ्नो छैटौं टेस्ट म्याच खेलिरहेका ओपनिंग ब्याटर शफीकले क्रीजमा खुट्टी गाड़े अनि अन्तमा पाकिस्तानलाई ४ विकेटले रेकर्ड जीत दिलाए। पाकिस्तानलाई यादगार जीत दिलाउने क्रममा शफीकले अविजित १६० रन बनाए। यो उनको टेस्ट करियरको सर्वाधिक स्कोर हो। उनले गत वर्ष बंग्लादेश विरुद्ध आफ्नो पहिलो टेस्ट म्याच खेलेका थिए।

पाकिस्तानलाई बुधवार म्याचको पाँचौं तथा अन्तिम दिन जीतको निम्ति थप १२० रनको आवश्यकता थियो अनि श्रीलंकालाई जीतको निम्ति ७ विकेट चाहिएको थियो। आज श्रीलंकाले केवल ३ विकेट हासिल गर्न सक्यो अनि पाकिस्तानले ६ विकेटमा ३४४ रन बटुलेर म्याच जित्यो। पाकिस्तानको दोस्रो ईनिंग्समा कप्तान बाबर आजमले ५५ र मोहम्मद रिजवानले ४० रन बनाए। श्रीलंकाई खेलाड़ीहरूले शफीकको दुईवटा सजिलो क्याच फुत्काए।

श्रीलंकाले आफ्नो पहिलो ईनिंग्समा दिनेश चाण्डीमलको ७६ रनको सहायताले २२२ रन बनाएको थियो। त्यसपछि पाकिस्तानले ११२ रनमा ८ विकेट गुमाएको थियो। त्यसपछि कप्तान बाबर आजमको शतक (११९)-ले पाकिस्तान आफ्नो पहिलो ईनिंग्समा २१८ रनसम्म पुगेको थियो। दोस्रो ईनिंग्समा श्रीलंकाले असल ब्याटिंग गऱ्यो। चाण्डीमलले ९४ र कुसल मेण्डिसले ७६ रन बनाएर टीमको स्कोरलाई ३३७ रनसम्म पुऱ्याए। यसरी पाकिस्तानलाई जीतको निम्ति ३४२ रन बनाउने लक्ष्य प्राप्त भएको थियो।

श्रीलंकाको तर्फबाट दोस्रो टेस्ट म्याच खेलिरहेका देब्रे हातका स्पिनर प्रभात जयसूर्याले फेरि एकपल्ट चमत्कारी बलिंग गरे। उनले पहिलो ईनिंग्समा ५ अनि दोस्रो ईनिंग्समा ४ विकेट लिए। यसरी दुईवटा टेस्टमा उनको विकेट संख्या २१ पुगेको छ। टेस्ट क्रिकेटको इतिहासमा यो पाकिस्तानले हासिल गरेको दोस्रो सर्वाधिक लक्ष्य हो। यसअघि टीमले श्रीलंका विरुद्ध नै २०१५-मा पल्लेकेलेमा ३७७ रनको लक्ष्यलाई हासिल गरेको थियो। पाकिस्तानले चौथोपल्ट ३०० भन्दा अधिकको लक्ष्यलाई हासिल गऱ्यो अनि यसमा तीनपल्ट श्रीलंका विपक्षी टीम थियो।