जोरथाङ: आगामी विधानसभा चुनाउ अघि नै सिकिम विधानसभामा लिम्बू-तामाङ समुदायले सीटको आरक्षण पाउनुपर्छ भन्ने माग गर्दै शनिवार जोरथाङमा एउटा जुलुस आयोजन गऱ्यो।

लिम्बू-तामाङ भोलेन्टरी कमिटी (एलटीभीसी) ले आयोजन गरेको जुलुसमा चुनाउअघि सीट आरक्षण नगराइए सत्तारुढ एसकेएम पार्टीलाई भोट नदिइने चेताउनी पनि जारी गरिएको छ।
जुलुसमा भाग लिनेहरूले ‘नो सीट नो भोट’ को नारा लगाएका थिए। पछि पत्रकारहरूसँग कुराकारी गर्ने क्रममा एलटीभीसीका प्रतिनिधिहरूले पनि चुनाउअघि सीट आरक्षण गराउन सफल नभए एसकेएम पार्टीलाई भोट नदिने दाबी गरे। जोरथाङ अकर पूलदेखि शुरु भएको जुलुस बजार परिक्रमा गरेर पुरानो ट्याक्सी स्ट्याण्डमा पुगेर समापन भएको थियो।
एलटीभीसीका प्रतिनिधि र अन्य सङ्गठनका सदस्यहरू बाहेक जुलुसमा केही राजनीतिक पार्टीका कार्यकर्ता पनि सहभागी बनेका थिए। जुलुसमा सहभागी बनेका मानिसहरूले बोकेका प्लाकार्डहरूमा विशेष गरेर वर्तमान सरकारलाई सीट आरक्षम बारे चाप दिने प्रकारका नाराहरू लेखिएका थिए। सिक्किम विधानसभामा लिम्बू-तामाङको सीट आरक्षण धारा ३७१एफ कै आधारमा हुनुपर्छ भन्ने मागमाथि जोड दिइएको थियो।
जुलुसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै एलटीभीसीका महासचिव बीबी चोङले वर्तमान सरकार लिम्बू-तामाङलाई विधानसभामा सीट आरक्षण दिलाउने वचनबाट भागी रहेको आरोप लगाए। एसकेएम पार्टीले २०१९ अघि विपक्षीमा हुँदा सरकारमा पुगे १० दिनभित्र लिम्बू-तामाङलाई सीट दिलाउने दाबी गरेको, तर आज सरकारमा पुगेको साढे चार वर्ष पूरा भइसक्दा पनि यसबारे सरकारले कुनै काम नगरेको उनले आरोप लगाए। उनले एसकेएम सरकारले ९६ हजार लिम्बू-तामाङ मतदातालाई अन्याय गरेको पनि आरोप लगाए।
एलटीभीसीका अध्यक्ष येहाङ चोङले पनि लिम्बू-तामाङ सीट आरक्षणमा एसकेएम सरकार गम्भीर नरहेको आरोप लगाए। २०२४ को आम चुनाउअघि सीट आरक्षण गराउने अन्तिम मौका ४ दिसम्बरदेखि शुरु हुने संसदको शीतकालिन सत्र रहेको बताउँदै एसकेएम सरकारले यो सत्रबाट पनि सिक्किम विधनसभामा लिम्बू-तामाङ समुदायको निम्ति सीट आरक्षण गराउन नसके आगामी चुनाउमा लिम्बू-तामाङले एसकेएम पार्टीलाई भोट नदिने दाबी गरे।
येहाङ चोङले भने, जब एसकेएम पार्टी विपक्षीमा थियो त्यतिबेला सिक्किम विधानसभाका ३२ सीटबाट लिम्बू-तामाङलाई पाँचवटा सीट दिने भन्दै घोषणा गरेको थियो। उनीहरूको घोषणाको आधारमा नै हामीले २०१९ एसकेएमलाई समर्थन गरेका थियौं। अहिलेसम्म एसकेएमले सीट दिलाउन सकेको छैन र आगामी 4 दिसम्बरदेखि शुरु हुने संसदको शीतकालिन सत्रमा सीट दिलाउन सक्ने अन्तिम अवसर छ। आगामी संसद सत्रअघि एसकेएम सरकारले सिक्किम विधानसभाको सत्र डाकेर सीट दिलाउने ठोष पहल गर्नुपर्छ।
सिक्किमका राजनीतिक पार्टीले लिम्बू-तामाङ समुदायलाई भोट ब्याङ्कका रूपमा प्रयोग गरिरहेका येहाङ चोङले आरोप लगाएका छन्। उनले थप भने, पहिला एसडीएफ सरकारले सिक्किम विधानसभाको सीट ४० बनाएर लिम्बू-तामाङलाई सीट दिलाउने प्रस्ताव अघि बढाउँदा एसकेएमले विरोध गरेर ३२ बाटै सीट दिनुपर्छ भनेको थियो। अहिले आएर सरकार ३२ बाट पनि सीट दिलाउन असफल भएको छ। लिम्बू-तामाङको सीट आरक्षण राजनैतिक मुद्दा मात्र बनेको छ, यसबारे ठोष पहल गरिएकै छैन।
अर्कोतिर मुख्यमन्त्री पीएस तामाङ र लोकसभा सांसद इन्द्रहाङ सुब्बामाथि गम्भीर आरोप लगाउँदै उनीहरू सिक्किम विधानसभामा सीट आरक्षण पाउनुपर्ने समुदायबाट भएर पनि जातिको मुद्दामा नबोलेका र केवल चौकीको मोहमा मात्र राजनीति गरिरहेको बताए।











