गान्तोक: गत ३ र ४ अक्टोबर बीचको राति टिस्टा नदिमा आएको जलप्रलयको कारण उत्तर सिक्किमको लाचेनमा फँसेका वाहनहरूलाई निकालेर गान्तोक ल्याउने मार्ग प्रशस्त भएको छ। जेमामा पुल निर्माणको कार्य सकिएपछि यो सम्भव हुन गइरहेको हो। यसको साथै लाचेनदेखि थाङ्गुसम्मको सड़क मार्गलाई पनि पुनर्स्थापित गरिएको छ। यसैले करिब डेड़ महिना पछि लाचेनमा फँसेका वाहनहरूलाई गान्तोक फर्काउने निर्णय लिइएको लाचेनका पिपनले जानकारी गराएका छन्। उल्लेखनीय छ, टिस्टा जलप्रलयको अघिल्लो दिन पर्यटकहरू लिएर गएका सयौं वाहनहरू लाचेन अनि वरपर क्षेत्रमा फँसेको छ।
लाचेनका पिपनले जानकारी गराएअनुसार आगामी २० नोभेम्बरको दिन फँसेका सबै वाहनलाई थाङ्गु, दोङ्गख्याला, लाचुङ हुँदै गान्तोक पठाइने छ। यसको निम्ति फँसेका वाहनका चालकहरूलाई अघिल्लो दिन अर्थात १९ नोभेम्बरको दिन लाचुङ पुग्ने पिपनले अपील गरेका छन्।
उल्लेखनीय छ, जलप्रलयको कारण जताततै सड़क मार्ग अवरुद्ध भएपछि वाहन छोड़ेर फर्कन परेकोले वाहन चालक एवं मालिकहरूले धेरै वित्तीय नोक्सानी बेहोर्नु परेको छ। उनीहरूको यसै नोक्सानीलाई ध्यानमा राखेर राज्य सरकारले पीड़ित चालक अनि मालिकहरूलाई वित्तीय सहयोग प्रदान गरेको थियो।









