नयाँ दिल्ली: पछिल्लो एक महिनामा टमाटरको मूल्य २९ प्रतिशतले घटेको छ। टमाटरको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको भए पनि टमाटर उत्पादक किसानलाई आफ्नो बालीको लागत धान्न मुस्किल भएको छ। तमिलनाडुको बजारमा प्रतिकिलो तीन रुपियाँमा पनि टमाटर किन्न कोही व्यापारी तयार छैनन्। कोइम्बटूरको किनाथुकाडावु सब्जीको मण्डीमा टमाटर बेच्न आएका किसानहरूले आफ्नो बाली बिक्री नहुँदा उनीहरूले राजमार्गमा टमाटर फ्याँक्न बाध्य भए। करिब एक टन टमाटर राजमार्गमा छरिएको थियो। बजारमा १५ केजी तौलको एक क्रेट टमाटरको मूल्य ५० रुपियाँ रहेको किसान बताउँछन्। यति मात्र होइन, यो मूल्यमा पनि सबै किसानको टमाटर बिक्री नभएकाले बाध्यतामा आफ्नो बाली फ्याँक्नुपरेको छ।
टमाटरको मूल्य एक महिनामा करिब एक तिहाइले घटेको उपभोक्ता मन्त्रालयले जनाएको छ भने प्याजको भाउ गत वर्षको तुलनामा ९ प्रतिशतले सस्तो भएको छ। मङ्गलबार देशभर टमाटरको औसत मूल्य प्रतिकिलो ३७.३५ रुपियाँ रहेको छ, जुन एक महिना अघि प्रतिकिलो ५२.५ रुपियाँ थियो। मनसुनपछिको नयाँ बाली तयारीका कारण मूल्यमा यो गिरावट आएको हो।