सिङ्ताम: लगभग डेड़ महिना बित्नलाग्दा पनि बङ्गालको १० राष्ट्रिय राजमार्ग ट्रकहरुका निम्ति नखोलिएकोमा सिक्किम ट्रक चालक सङ्गठन मुख्यालयका अध्यक्ष डी. बी. छेत्रीले चिन्तित बन्दै सिक्किम सरकार एंव मुख्यमन्त्री प्रेम सिंह तामाङलाई यस विषयमा सम्बन्धित निकायहरुसित कुराकानी गरेर चाँड़ो भन्दा चाँड़ो राजमार्गलाई माल वाहक ट्रकहरुको निम्ति सुचारु गराउन अनुरोध गरेका छन्। हिज उनी स्वयं मिडियाको साथमा टिस्टा नजिक लिखु भीर अनि गेलखोला, २९ माइलको राजमार्गको वर्तमान अवस्था के-कस्तो छ जान्न भनी गएका थिए, जहाँ सड़कको मरम्मतिको काम अति नै सुस्त रहेको तथा कतिपय सड़कहरु अति नै साघुरो रहेको अनि नदी किनारमा वाल लगाउने काम पनि ठप्प र लथालिङ्गै रहेको देखेपछि मालवाहक ट्रकहरु यस राजमार्गमा कुद्नु अझ धेरै समय लाग्ने थाहा पाएपछि सिक्किमका मुख्यमन्त्रीलाई लिखुभीर छेउको १० राष्ट्रिय राजमार्गबाट सडक सुचारुको निम्ति पहल गरिदिने अनुरोध गरेका हुन्।
लाभाको लामो बाटो कुद्नु परेकोले गाड़ीले डब्बल तेल खाने गरेको तथा गान्तोकदेखि सिलगढ़ी पुगेर लोड लिएर फर्किनु ३ दिनसम्म समय लागिरहेको छ भने उक्त सड़कमा धेरै गाड़ीहरु पनि दूर्घटना हुने गरेको अनि मानिसहरुले पनि महँगाईको मार झेल्नु परिरहेको छ भन्ने अवगत गराउँदै टिस्टादेखि २९ माइलसम्मको हाईवेको सड़कमा माल वाहक ट्रकहरुलाई पनि सुचारु गराउन सड़क मरम्मतिको काम
युद्धस्तर र गुणस्तरीय हुनु अत्यन्तै जरुरी छ। आज बाड़ प्रभावित हाइवे लिखुभीर परिसरमा कुनै सम्बन्धित अधिकारीहरुलाई नभेटेपछि अध्यक्ष डीबी छेत्रीले पीडब्लुडीका एज्युकेटीव इन्जिनियर सुबोध छेत्रीसित टेलिफोनिक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। यसअघि उनले टिस्टा थानाका दोस्रो ओसी
गौतम लामासित भेट गरेर सडकको अवस्थाबारे सोधखोज गर्दा ओसी लामाले हाई कमानबाट आदेश आएको खण्डमा हामी ठूलो गाडीहरुलाई पनि १० हाईवेमा छोड़्ने छौं भनी बताए। हाईवेको अवस्था निरीक्षणको क्रममा अध्यक्ष डी. बी. छेत्रीसित दार्जीलिङ गोर्खा हिल ट्रक मालिक संगठनका अध्यक्ष मदन छेत्रीको पनि सहभागिता रहेको सिक्किम कक चालक संगठन मुख्यालयका प्रचार-प्रसार सचिव नन्दु दूतराजले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।।









