गान्तोक: नामथाङ रातेपानीको अप्पर परविङ वार्डमा नवनिर्मित गुरु छो-पेमा गुम्पाको आज क्षेत्र विधायक एवं राज्यका भवन तथा आवास विभागीय मन्त्री सञ्जीत खरेलको बाहुलीबाट विधिवत उद्घाटन गरियो।
उद्घाटनपछि मन्त्री खरेलले गुम्पा परिसरको अवलोकन गर्दै स्थानीय मानिसहरूसँग कुराकानी गरे।
यस क्षेत्रलाई कसरी विकसित गर्न सकिन्छ भन्ने सम्भावनाबारे पनि उनले चर्चा गरे। मन्त्री खरेलले नवनिर्मित छो-पेमा गुम्पाको उद्घाटनपछि क्षेत्रवासीलाई बधाई एवं शुभकामना पनि दिएका छन्।
जानकारी गराइन्छ, मन्त्री सञ्जीत खरेलद्वारा केही दिनअघि यी स्थलहरूको भ्रमणको क्रममा गाँउका जनसमुदाय साथै विशेष व्यक्तित्वहरूद्वारा उनीसमक्ष धार्मिक धरोधर निर्माण गर्नुको साथै पर्यटन क्षेत्रलाई बढ़ावा दिई शिक्षित बेरोजगार युवा भाई-बहिनीहरूलाई पर्यटन व्यवसायतिर लाग्न प्रेरित गर्ने उद्देश्यका साथ विविध मागहरू राखेका थिए।
सोही मागहरूलाई ध्यानमा राखेर मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्ग निर्देशनमा सो गुम्पाको निर्माण साथै स्थानीय सुन्दरीकरण भएका पर्यटन स्थलहरू स्थानीय जनताप्रति समर्पित गरिएको छ।
आजको कार्यक्रममा मुख्य अतिथि मन्त्री सञ्जीत खरेलकी धर्मपत्नी आशा खरेल, एसकेएम क्षेत्र महासचिव नरेश सुब्बा, मोहन रणपाल, क्षेत्रीय युवा उपसंयोजक सी.के.सुब्बा, जिल्ला पञ्चायत सदस्य मिङ्गमा डेण्डुप शेर्पा, अनिल शंकर, बरिष्ठ सरकारी कर्मचारी एबी गुरूङ, पञ्चायत सदस्यगण लगायत पार्टीका पदाधिकारीगण साथै स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो।









