अलिपुरद्वारः यसघरी तृणमूल अलिपुरद्वार जिल्लाको राजनैतिक पारामा उतार चढ़ाउ हुन थालेको छ। बिहीबार अबेर साँझ मात्र तृणमूलका पूर्व राज्य सहसभापति प्रशान्त नारायण उर्फ जहर मजुमदारले तृणमूल अब फाँसीवादी दलमा परिणत भएको र यसलाई उखेलेर फ्याँक्नु पर्ने आह्वान गर्दै अबउसो आफूले तृणमूलबाट राजीनामा दिएको भन्दै पत्रकार सम्मेलन गरेको थियो।
तृणमूलको एकजना संस्थापक सदस्य तथा अलिपुरद्वार जिल्लाको कानुनी सल्लाहकार साथै वरिष्ठ अधिवक्ता एवम् पार्टी पथप्रदर्शकको रुपमा काम गर्दै आइरहेको प्रशान्त नारायण उर्फ जहर मजुमदारले अचानक यसरी पार्टी छोड़ने निर्णय लिएको घटनाबारे तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाइकले जहर मजुमदार एकजना वरिष्ठ अनुभवी पथप्रदर्शक रहेको र तिनको यो दल त्याग्ने फसेलाको लिखित केही नभेटेको बताएका छन्।
यता शुक्रबार यस सन्दर्भमा भाजपा अलिपुरद्वार जिल्ला सभापति तथा मदारीहाट विधायक मनोज तिग्गाले पनि पत्रकार सम्मेलन गर्दै यसबारे प्रतिक्रिया दिएका छन्। शुक्रबार यसै क्रममा अलिपुरद्वार जिल्ला कंग्रेसको कार्यकारी अध्यक्ष डा. सान्तानु देवनाथ कंग्रेस नेता पासाङ लामा एवम् कंग्रेसको जिल्ला नेतृत्वहरूले जहर मजुमदारसित तिनको घरमा पुगेर भेंटवार्ता पनि गरेको थियो यद्यपि कुनै प्रकारको बयानबाजी भने आएका छैनन्। बिहीबार साँझ यसरी अचानक तृणमूलका एकजना संस्थापक तथा वरिष्ठ कानुनवेत्ता प्रशान्त नारायण उर्फ जहर मजुमदारले तृणमूलबाट विरक्तिएर मुख्यमन्त्री तथा तृणमूल सुप्रिमो ममता ब्यानर्जी फाँसीवादी भएको भन्नु र चोरलाई भगाएर डकैतलाई सत्तामा ल्याएको पछुतो गर्नु जस्तो बयानबाजीले झन राजनैतिक बजारमा आउँदो लोकसभा चुनाउको माहौल तात्तिएको राजनैतिक पर्यवेक्षकहरूले ठानेका छन्। लोकसभा चुनाउलाई लिएर तृणमूलले अहिलेदेखि नै भाजपा विरोधी प्रचार थालेका छन् भने यसबीच तृणमूलको संस्थापक एवम् वरिष्ठ पब्लिक प्रोसेक्युटर प्रशान्त नारायण उर्फ जहर मजुमदारले पार्टी छोड़ेको कुराले आगामी लोकसभा निर्वाचनमा तृणमूललाई क्षति पुग्ने पनि विरोधी दलका नेताहरूले जनाएका छन्। शनिबार यसै क्रममा भाजपा अलिपुरद्वार जिल्ला सभापति तथा मदारीहाट विधायक मनोज तिग्गाले जहर मजुमदार जस्तो अनुभवी र वरिष्ठ कानुनवेत्ता एवम् तृणमूलको संस्थापक सदस्यले तृणमूल अब फाँसीवादी दलमा परिणत भएको कुरा उजगार हुनु जनता समक्ष सत्य कुराको सम्प्रेषण भएको जनाएका छन्। तृणमूलमा अहिले सबै लुट र धन्धा गर्ने नेताहरूले ठाउँ पाएको र पुराना संस्थापक सदस्यहरू सबैले दल छोड़न थालेको र यसले आगामी लोकसभा चुनाउमा भाजपालाई लाभ हुने दाबी पनि गरेका छन्। अर्कोतिर तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाइकले प्रशान्त नारायण उर्फ जहर मजुमदार जस्तो ज्येष्ठ अनि अनुभवी व्यक्तिले दल किन छोड़ने निर्णय लियो यसबारे केही टिप्पणी नगर्ने यो पार्टीको उच्च कमानले जाँच गर्ने तर आगामी लोकसभा चुनाउमा जहर मजुमदारले गर्दा पार्टीलाई कुनै प्रभाव नपर्ने जनाएका छन्।









