कालचिनीः शुक्रबार राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा अलिपुरद्वार २ नम्बर ब्लक अन्तर्गत पर्ने कोहिनूर ग्राम पञ्चायत र चाइल्ड इन नीड इन्स्टिच्युट (सिनी) को पहलमा तथा बाबु करेन आमार बाच्चा नामक स्वैच्छिक संस्थाको सहकार्यमा कोहिनूरको एमएसके मैदानमा बाल अन्तरक्रिया कार्यक्रम र बालिकाहरूसँग फुटबल खेल सम्पन्न भयो। बालबालिकाको अधिकार र बाल बेचबिखन, साइबर अपराध वा समलिङ्गी विवाह जस्ता महत्वपूर्ण मुद्दाहरूमाथि कार्यक्रममा चर्चा सम्पन्न भएको थियो।
सिनिले तेस्रो बालअधिकार सप्ताहको अवसरमा सो कार्यक्रमको आयोजना गरेको सिनि अलिपुरद्वार जिल्ला प्रोग्राम कोर्डिनेटर बिमान चौधरीले जनाएका छन्। यसै अवसरमा पुलिसको पहलमा विद्यालयका विद्यार्थीसँग मैत्रीपूर्ण फुटबल खेलको आयोजना पनि गरिएको थियो।

यस अवसरमा जिल्लाको सीडब्ल्यूसी अधिकारी लाल कमल चक्रवर्ती, अलिपुरद्वार दुई नम्बर ब्लक पञ्चायत समिति सभापति झुमा दास देवनाथ, कोहिनूर ग्राम पञ्चायतका प्रधान सावन गौढ़, पञ्चायत समिति सदस्य तथा पञ्चायत सदस्यहरू तथा आँगनबाडी कर्मचारीहरू एवम् सिनि संयोजक बिमान चौधरी र जिल्ला संयोजक योगेश लामाको उपस्थिति रहेको थियो।

सिनिका ब्लक कोर्डिनेटर असित सिकदार (बादल) ले यो कार्यक्रम अलिपुरद्वार २ नम्बर ब्लकमा एक सातासम्म चल्ने र त्यसपछि कालचिनी, कुमारग्राम लगायतका ग्राम पञ्चायतले यो कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। शुक्रबार सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा कोहिनूर र धौलाझोड़ा चियाबारीका मानिसहरूको उपस्थिति रहेको थियो।









