गान्तोक: राज्यका सडक एवम पुल विभाग मन्त्री साम्दुप लेप्चाले आज मंगन र चुङथाङलाई जोडने वेली पुलको उदघाटन गरे। उक्त पुल चुङथाङमा निर्माण गरिएको हो। उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन आएको प्रकृतिक प्रकोपले मंगन र चुङथाङलाई जोडने पुल बगाएपछि सम्पर्क विच्छेद बनेको थियो। आजदेखि मानिसहरू मंगनदेखि सजिलोसँग सो पुल भएर चुङथाङ पुग्न सक्ने भएका छन्। गत १२ अक्टोबरदेखि सो पुलको निर्माण कार्य शुरू गरिएको थियो। १२ अक्टोबरदेखि शुरू निर्माण कार्य शुरू भएको थियो भने यस पुल निर्माणमा तीन हप्ता भन्दा अधिक समय लागेको जानकारी गराइएको छ।
चुङ्थाङमा टिस्टा नदीको दुबै छेउमा रहेका ठाडो चट्टानहरूमा विशाल कंक्रीट संरचनाहरूको म्यानुअल निर्माण समावेश थियो। त्यसपछि सीमा सडक संगठन र त्रिशक्ति सेनाका अभियन्ताहरूको संयुक्त प्रयासमा बेली ब्रिज निर्माण कार्य आज पुरा भएको छ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवम मन्त्री साम्दुप लेप्चाले यस पुल निर्माणको निम्ति शुरूदेखि नै खटेका सीमा सडक संगठन, आइटीबीपी र जिल्ला प्रशासनलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। उनले यस कार्यको निम्ति जुटेका नागरिकहरूको प्रशंसा गर्दै यो विपदको घडीमा एक अर्कालाई साथ दिनुपर्ने आग्रह गरे।
उनले प्रस्तावित आवासीय तथा व्यावसायिक आवास, ढल निकासको तत्काल पुनर्निर्माण, अस्तव्यस्त पूर्वाधार भत्काउनेलगायतका विषयमा स्थानीयवासीले राखेका गुनासो सम्बोधन गरेका थिए। उनले जनतालाई सरकारबाट निरन्तर सहयोगको आश्वासन दिँदै चुङ्थाका प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक दिगो र व्यवस्थित कार्ययोजना बनाउन एकजुट भएर लाग्न आग्रह गरे।










