एकदिवसीय विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गरेको छ। कोलकाताको इडेन गार्डेनमा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर २१२ रन बनायो। अष्ट्रेलियाले सात विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। अब अष्ट्रेलियाले आइतबार भारतसँग खेल्नेछ। दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया कीर्तिमानी आठौं पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ। पाँच पटकको विश्व च्याम्पियन कंगारु टोलीले आइतबार अहमदाबाद मैदानमा आयोजक र दुई पटकको विश्व च्याम्पियन भारतको सामना गर्नेछ। यस खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अफ्रिकी टोली हार्दै पाँचौं पटक विश्वकपबाट बाहिरिएको छ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १०१ रन बनाए। क्लासेनले ४७ रनको इनिङ खेले। कोइत्जेले १९ रन बनाए। मार्कराम र रबाडाले १०–१० रनको योगदान दिए। अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले समान ३–३ विकेट लिए। जोस हेजलउड र ट्राभिस हेडले २–२ विकेट लिए। योसँगै अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए। स्टिभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए। जोस इंग्लिसले २८ रन बनाए। लाबुसचेनले १८ रनको योगदान दिए। अन्त्यमा मिचेल स्टार्कले १६ रनको अविजित इनिङ्स खेले भने प्याट कमिन्सले १४ रनको अविजित इनिङ्स खेलेर आफ्नो टोलीलाई जित दिलाए। दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी र तबरेज शम्सीले २–२ विकेट लिए। कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले एक–एक विकेट लिए।










