खरसाङ: तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन बुधबार भाई टिका नेपाली गोर्खाहरूले धुमधुमसितले शान्तिपूर्ण रूपमा पालन गरिएको छ। यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजा-आजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदी-बहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ।

दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइ पूजा गरेको धार्मिक महत्त्व छ। यम पञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी-बहिनी र दाजु-भाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ। दिदी बहिनीले आफ्ना दाजु-भाइलाई टीका र माला लगाएपछि भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए भन्ने आस्था रहेको छ।

यमपञ्चकको अवधिभरि बहिनी यमुनाकोमा बसेको र भाइ टीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्छन्। त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ। भाइ टीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदी बहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्तो स्वरूप पान-सुपारी, फूल आदि दिने चलन छ। भाइ टीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। समय अनुसार भाइ टिकाको कतिरय नियमहरू र पालन गरिने विधिहरू परिवर्तन हुँदै गएको पाउँछौं। यसपालीको तिहारमा पनि दिदी बहिनीहरू अर्थात् चेलीहरूले आफ्ना माइतीहरू अर्थात् दाजु भाइहरूलाई टिका लगाएर लामो आयुको लागि प्रार्थना गर्नुको साथै आशिर्वाद लिएका छन्।

त्यसरी नै माइतीहरू अर्थात् दाजु भाइहरूले पनि आफ्ना चेली दिदी बहिनीहरूलाई उपहार दिन्दै आशिर्वाद पनि दिएका छन्। १२ नोभेम्बरदेखि शुरु भएको तिहार बुधबार भाइ टिकासितै समाप्त भएको छ। तर देउसी एकादशीसम्म खेल्ने गरेको पाइन्छ।










