२० जुलाईः प्रतिष्ठित डुरण्ड कप फूटबल टुर्नामेण्टको १३१औं संस्करणको शुरुवातको निम्ति चार शहरहरूका ट्रफी यात्रा कलकत्ताबाट शुरु भयो। भारतीय सेनाको पूर्वी मोर्चा (ईष्टर्न फ्रण्ट)-को मुख्यालय फोर्ट विलियममा फ्ल्यागिंग अफ् समारोहको आयोजन गरियो। कार्यक्रममा पश्चिम बंगाल सरकारका बिजुली मन्त्रालयका प्रभारी एवम् यूथ सर्विसेज अनि खेल मन्त्रालयका अरुप विश्वास, पूर्व मोर्चाका जनरल अफिसर कमाण्डिंग इन चीफ, लेफ्टिनेण्ट जनरल आरपी कलिता अनि पूर्वी मोर्चा मुख्यालयका चीफ अफ् स्टाफ एवम् डुरण्ड समितिका अध्यक्ष लेफ्टिनेण्ट जनरल के.के. रेप्सवाल उपस्थित थिए।

टुर्नामेण्टमा विजेताहरूलाई दिइने तीनवटा ट्रफीहरू, डुरण्ड कपको मूल पुरस्कार, राष्ट्रपति कप र शिमला ट्रफी पहिला २१ जुलाईमा असमको गुवाहटी पुग्नेछ। त्यहाँबाट २४ जुलाईमा मणिपुरको राजधानी इम्फाल पुग्नेछ। त्यसपचि २ अगस्त २०२२-मा ट्रफीहरू कलकत्ता फर्किनेछ। त्यसअघि ट्रफीहरू २७ जुलाईमा राजस्थानको राजधानी जयपुर पुग्नेछ।

कलकत्तामा ट्रफीहरूलाई महान फूटबलर गोष्ठ पालको प्रतिमा अघि स्वागत गरिनेछ। ट्रफी टूरको निम्ति गन्तव्य स्थलहरू ध्यानको साथ चयन गरिएको छ। गुवाहटी र इम्फालमा पहिलोपल्ट टुर्नामेण्टको आयोजन गरिनेछ भने राजस्थान राज्यबाट ४० सालको अन्तरालपछि यस प्रतिष्ठित टुर्नामेण्टमा एउटा टीम खेल्न ओर्लिनेछ। भारतको सबैभन्दा पुरानो फूटबल टुर्नामेण्ट डुरण्ड कपको आयोजन यसपाली पहिलोपल्ट असम र मणिपुरमा पनि हुनेछ। कलकत्ता बाहेक गुवाहटी र इम्फाल १६ अगस्तदेखि शुरु हुने यस टुर्नामेण्टको १३१औं संस्करणको आयोजक शहर हुनेछ। विवेकानन्द युवा भारतीय क्रीड़ांगनमा १८ सेप्टेम्बरको दिन टुर्नामेण्टको फाइनल खेलिनेछ। यसपाली टुर्नामेण्टमा हिस्सा लिने टीमहरूका संख्या १६-बाट बढ़ाएर २० गरिएको छ। गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियम र इम्फालको खुमान लम्पक स्टेडियम टुर्नामेण्टको नयाँ आयोजन स्थल हुनेछ। यसबाहेक पश्चिम बंगालमा कलकत्ताको युवा भारती क्रीड़ांगन र उत्तर २४ परगना जिल्लाको नैहाटी स्टेडियममा म्याचहरू खेलिनेछ। टुर्नामेण्टमा हिस्सा लिने २० वटा टीमलाई चारवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा एफसी गोवा, मोहमेडन स्पोर्टिंग क्लब, बेंगलुरु एफसी, जमशेदपुर एफसी र इण्डियन एयर फोर्स रहेको छ। ग्रुप बी-मा ईष्ट बेंगल, एटीके मोहन बगान, मुम्बई सिटी एफसी, राजस्थान युनाइटेड र इण्डियन नेभी रहेको छ। यसरी नै ग्रुप सी-मा नेरोका एफसी, ट्राउ एफसी, हैदराबाद एफसी, चेन्नईयन एफसी र आर्मी रेड रहेको छ। यसबाहेक ग्रुप डी-मा नर्थईष्ट युनाइटेड, केरला ब्लास्टर्स, ओडिशा एफसी, सुदेवा दिल्ली एफसी र आर्मी ग्रीन रहेको छ। ग्रुप सी-का म्याचहरू इम्फाल र ग्रुप डी-का म्याचहरू गुवाहटीमा खेलिनेछ। उल्लेखनीय छ, डुरण्ड कप सबैभन्दा पहिला १८८८ सालमा शिमलामा भएको थियो।