गान्तोक: भारतीय सैन्यको त्रिशक्ति ट्रुप्सले बीआरओ-को सहयोगमा उत्तर सिक्किमको चुङथाङमा अन्तत: बेली ब्रीजको निर्माण गर्न सफल भएको छ।

गत ३ अक्टोबरको अबेर राति आएको बाढले पुलसहित सजक मार्गलाई पुऱ्याएको क्षय-क्षतिपछि उत्तर सिक्किमको अन्य ठाउँहरूसित पूर्णरूपले हालसम्म सम्पर्क टुटेको थियो भने अब यो बेली ब्रीजको निर्माण भएकोले पुन: उत्तर सिक्किमको अन्य ठाउँहरूसित आउजाउ शुरू भएको छ।

उक्त ब्रीजको निर्माण भएपछि यो ब्रीज भएर वाहनहरूको चलाचल शुरू हुनको साथै उत्तर सिक्किमको बाढ प्रभावित ठाउँहरूमा पिडितहरू समक्ष राहत सामग्रीहरू पुऱ्याउन पनि सकिने भएको छ।

भारतीय सैन्यको पहलमा निर्माण गरिएको उक्त लगभग २०० फीटको सबैभन्दा लामो बेली ब्रीजको निर्माण भएपछि सिक्किम राज्यका रोड्स एन्ड ब्रीज मन्त्री सामडुप लेप्चाले यसको विधिवत् उद्घाटन गरे। यस अवसरमा भारतीय सैन्यका शिर्ष अधिकारीगण लगायत बीआरओ तथा अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।










