गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा जनताहरू साथै एसडीएफ कार्यकर्ताहरू सामेल हुने क्रम जारी रहेको छ। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम पार्टीको सरकारले हाल विभिन्न विकासका कामहरू गरेको देखेर पार्टीमा सामेल हुने क्रम निरन्तर भइरहेको छ। पूर्व र वर्तमान सरकारको तुलनामा अहिलेको एसकेएम सरकार नै जनमुखी सरकार रहेको देखेर प्रेरित बन्दै सत्तारूढ पार्टीमा सामेल भएको बताउँछन्।

यसरी नियमित रूपमा एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल हुने क्रममा आज दक्षिण सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रबाट सक्रिय एसडीएफ कार्यकर्ताले एसकेएम पार्टीमा प्रवेश गरेका छन्। नामथाङ रातेपानी समष्टिको कोल्बोङ वार्ड निवासी सागर तामाङले आज एसडीएफ पार्टी त्यागेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई समर्थन गरी यसमा प्रवेश लिएका हुन्। क्षेत्र विधायक तथा मन्त्री सञ्जित खरेलको गान्तोक स्थित सरकारी निवासमा पार्टीमा सामेल भएका तामाङलाई मन्त्री सञ्जित खरेलले खादा लगाएर पार्टीमा स्वागत जनाए।