शब्द समय सालबारीद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्ती पालन

IMG-20231114-WA0167.jpg

खरसाङ: शब्द समय सालबारीद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्म जयन्ती एक शालीन समारोहबीच पालन गरेको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा प्रख्यात चलचित्र अभिनेता टंक शर्मा उपस्थित रहेका थिए। प्रमुख वक्ताका रूपमा काठमाडौं नेपालका वरिष्ठ साहित्यकार शरद प्रधान उपस्थित थिए। यस अवसरमा प्रमुख अतिथि अनि प्रमुख वार्ताकारको बाहुलीबाट देवकोटाको तस्वीर अघि धूप-दीप प्रज्जलनका सथै साहित्यकार-चित्रकार सविता गोम्देनको तस्वीरमा धूप प्रज्ज्वलित गरियो। कार्यक्रम महाकवि देवकोटाको कविता वाचनबाट आरम्भ गरियो। देवकोटाको प्रसिद्ध कविता ‘एक वियोगी पिताप्रति’ (जो महाकविले कवि सिद्धिचरण श्रेष्ठ पुत्र वियोगमा परेका समयमा लेखेका थिए) युग्मककार कालूसिंह रनपहेंलीले पठन गरे। यस अवसरमा प्रमुख वक्ता वरिष्ठ साहित्यकार शरद प्रधानले देवकोटामाथि विविध कुराहरू राखे। उनले देवकोटाका अंग्रेजी कविताहरूको उल्लेख गर्दै उनको बहुमुखी प्रतिभाको चर्चा गरे। साहित्यकार प्रधानले भने, देवकोटाको सिर्जना वैशिष्ट्यबारे संसारलाई बुझाउनु हो भने उनका कृतिहरू धेरैभन्दा धेरै अन्य भाषाहरूमा अनुवाद हुनु अवश्यक छ। उसै गरी प्रा. डा. मोहन पी दाहाल, कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडा अनि वरिष्ठ साहित्यकार आइएन प्रधानले देवकोटामाथि जानकारीमूलक कुराहरू राखेका थिए। प्रा. डा. मोहन पी दाहाल भनिरहेका थिए, ‘देवकोटा भनेका अनन्त कवि हुन्। उसैगरी अध्येता ज्ञानेन्द्र खतिवडा बताइरहेका थिए, ‘नेपाली साहित्यमा देवकोटा भनेका ‘न भूत न भविष्य हुन्।’ मुख्य अतिथि टंक शर्माले देवकोटा खरसाङ आउँदा उनलाई सशरीर देख्न पाइएको मीठो संस्मरणसितै देवकोटा सम्बन्धी रोचक कुराहरू राखे। उनले महाकविको प्रसिद्ध कविता ‘यात्री’ पनि वाचन गरे। कार्यक्रममा वरिष्ठ कवि भविलाल लामिछानेले सुन्दर स्वरचित कविता पठन गरे भने वरिष्ठ कवि मोहन ठकुरीले देवकोटाको प्रसिद्ध कविता ‘जरूर साथी म पागल’ पठन गरेर सुनाए। कवि निर्मल सिन्चुरी, कवि लीलबहादुर सुनार, कवि हेमन्त काँफ्ले अनि सर्जक पूर्ण मंगरले स्वरचित अनि देवकोटाका लोकप्रिय कविताहरू पठन गरेर सुनाए।

सम्पूर्ण कार्यक्रमलाई पत्रकार शैलेन्द्र समदर्शीले सञ्चालन गरेका थिए। उनले कार्यक्रममा स्वागत भाषण राख्नुसितै वरिष्ठ साहित्यकार अर्जुन प्रधानले यसै कार्यक्रममा प्रस्तुतिका निम्ति भनेर लेखी पठाउनुभएको देवकोटा सम्बन्धी विशेष लेखका अंशहरू पठन गरेर सुनाए। कार्यक्रममा वरिष्ठ साहित्यकार अनि राजनैतिक चिन्तक डीएस बम्जन, लोकप्रिय वरिष्ठ गायिका रिमोला मोक्तान, शिशिर प्रधान, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो भनी जानकारी पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement