कोरोनाको चौथो लहरसँग जुझ्न राज्य सरकार तयारः सचिव आनन्दन

IMG-20220719-WA0154.jpg

गान्तोक: राज्यमा कोरोनाभाइरसको नयाँ मामिलामा दैनन्दिन वृद्धि हुनसाथै कोरोनाबारे सबैले सतर्कता अपनाउनुपर्ने राज्यको स्वास्थ्य विभागले अपील गरेको छ। कोरोना भाइरसको नयाँ मामिलामा ह्वात्तै वृद्धि भइरहे पनि गम्भीर मामिला भने कम रहेको स्वास्थ्य एवं परिवार कल्याण विभागीय आयुक्त एवं सचिव डी. आनन्दनले आज एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। हाल राज्यमा ५३ संक्रमित सामान्य स्थितिमा रहेका छन् भने ४ जना अक्सिजनको सहयोगमा उपचाराधीन रहेका छन्। केवल एकजना आईसीयूमा रहेका छन्। ६३० जना होम क्वारेण्टाइनमा रहेका छन्। हालसम्म कोरोनाबारे राज्यको स्वास्थ्य विभागले ८३४ पटक हेल्थ बुलेटिनमार्फत जानकारी गराइसकेको छ भने आज बेलुकीसम्म ८३५ पुगेको छ। राज्यमा कोरोना संक्रमित पोजिटिविटी दर उच्च पुगेको छ। तथापि, संक्रमितहरूको गम्भीर मामिला भने कम रहेको राज्यको स्वास्थ्य विभागले जानकारी गराएको छ। राज्यवासीले कोरोनाको पहिलो अनि दोस्रो लहरमा कोरोनाको उचित व्यवहारबारे जारी मार्गनिर्देशनलाई गम्भीरतापूर्वक लिँदै अनुपालन गरेकै कारण राज्यमा कोरोना भाइरसको नियन्त्रण उचित ढंगमा हुन सकेको स्वास्थ्य विभागले स्मरण गराउँदै अब पनि सबैले कोरोना उचित व्यवहारलाई अनुपालन गर्नुपर्ने अनुरोध गरेको छ।

दैनिक रूपमा नयाँ मामिलामा वृद्धिले सक्रिय मामिलामा वृद्धि हुने अनि अस्पतालमा भर्ना हुनेहरूको संख्यामा पनि बढ़ोत्तरी हुने कुरालाई ध्यानमा राखेर विभागले उक्त स्थितिसँग जुझ्न तयारी रहेको बताए।

About Author

Advertisement