गान्तोक: राष्ट्रपति चुनाउ सम्पन्न भएपछि सिक्किम विधानसभाबाट ब्यालेट बक्ससँगै मतदानमा प्रयोग गरिएका सामग्रीहरू विशेष प्रतिनिधि टोलीले आज नयाँ दिल्लीस्थित संसद भवन पुऱ्यायो। राष्ट्रपति चुनाउमा सिक्किमको निम्ति नियुक्त सह-निर्वाचन अधिकारीद्वय ललित कुमार गुरुङ अनि कर्मा टी. ग्याछो, विधानसभाका उप-सचिवद्वय बरुण दाहाल अनि दावा जी. शेर्पाको नेतृत्वमा रहेको प्रतिनिधि टोलीले आज बिहान यहाँबाट ६.३५ बजी प्रस्थान गरेर फ्लाइट संख्या एआई-८८० मार्फत नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमार्फत संसद भवन उक्त ब्यालेट बक्स पुऱ्याउने कार्य गरेका छन्।

यसअघि, चुनाउ पर्यवेक्षक आईएएस एम. नागाराजु, सिक्किमका प्रमुख निर्वाचन अधिकारी डी. आनन्दन, सिक्किम विधानसभाका सचिव डा. गोपाल प्रसाद दाहाल, राष्ट्रपति चुनाउको निम्ति नियुक्त सह-चुनाउ अधिकारीद्वय ललित कुमार गुरुङ अनि कर्म टी. ग्याछो साथै सिक्किम पुलिसद्वारा खटाइएका सुरक्षाकर्मीहरूको उपस्थितिमा आज बिहान ६.३० बजी स्ट्र्ङ रूम खोलियो। सिक्किमका प्रमुख निर्वाचन अधिकारी डी. आनन्दन अनि विधानसभाका सचिव डा. गोपाल प्रसाद दाहालले यो ब्यालेट बक्स संसद भवनमा रहेका निर्वाचन अधिकारीसमक्ष पुऱ्याउनको निम्ति सह-निर्वाचन अधिकारीद्वय ललित कुमार गुरुङ अनि कर्मा टी. ग्यात्सो, विधानसभाका उप-सचिवद्वय बरुण दाहाल अनि दावा जी. शेर्पालाई नियुक्त गरे। ब्यालेट बक्स पुऱ्याउने जिम्मेवारी पाएको टोली पुलिस विभागका अधिकारीहरूको सुरक्षामा संसद भवन नयाँ दिल्लीतर्फ बिहान ६.३५ बजी प्रस्थान भएका थिए। जानकारी गराइन्छ, राष्ट्रपति पदको निम्ति भएको यस मतदानको मतगणना आगामी २१ जुलाईको दिन हुनेछ।