नाम्ची: सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोसिएशनको तत्वावधानमा आज दक्षिण सिक्किमको नाम्चीमा राष्ट्रिय शिक्षा दिवस २०२३ पालन गरियो। मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथि रहेको यसै कार्यक्रममको अवसमा १४८ जना अस्थायी शिक्षकहरूलाई नियमित नियुक्ति पत्र पनि प्रदान गरियो। आज नियुक्ति पत्र पाएका सबै शिक्षकहरूलाई राष्ट्रिय शिक्षक शिक्षा परिषद (एनसीटीई) को माणदण्ड पूरा नगरेकोले गैर शिक्षण पदमा नियुक्ति गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्र्ममा मुख्यमन्त्री तामाङले आगामी नयाँ वर्ष अघि नै वर्ष २०१४-१५ मा नियुक्त भएका तथा 8 वर्ष सेवाकाल पूरा गरेका अस्थायी शिक्षकहरूलाई पनि स्थायी गर्ने घोषणा गरे। यसको साथै सरकारले संस्कृत भाषाका शिक्षकहरू साथै भोकेशनल शिक्षकहरूलाई पनि अन्य शिक्षकहरूलाई जस्तै न्याय दिने थप बताए। यसरी नै जीटी र पीजीटीमा नियुक्ति भएर सहायक प्राध्यापकको रुपमा सेवा पुऱ्याइरहेका १२ जना शिक्षकहरूलाई चाँड़ै विधरूपमा सहायक प्राध्यापकको रुपमा नियुक्ति पत्र प्रदान गर्ने पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा थप बताए। मुख्यमन्त्री तामाङले विभिन्न धोषणा गर्नेक्रममा २०२४को राष्ट्रिय दिवसको अवसरमा ८ वर्ष पुगेका अनि नपुगेका सबै अस्थायी शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र प्रदान गर्ने पनि बताए।

उल्लेखनीय छ, देशमा प्रत्येक ११ नोभेम्बरलाई स्वतन्त्र भारतका प्रथम शिक्षा मन्त्री मौलना अबु कलाम आजादको जन्मजयन्तीलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा पालन गरिन्छ। तर, सिक्किमको संदर्भमा आजको दिनलाई प्रोवेशनरी शिक्षक दिवसको रुपमा पनि मान्न सकिने कारण आजकै दिन २०२१मा राज्य सरकारले वर्षौंदेखि पीड़ित अस्थायी शिक्षकहरूलाई न्याय दिइको मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। ज्ञात रहोस, २०२१को राष्ट्रिय शिक्षा दिवसको अवसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङले ८ वर्षे अस्थायी शिक्षक भर्ना नीतिको घोषणा गर्दै अस्थायी शिक्षकहरूलाई प्रोवेशनरी शिक्षकको संज्ञा दिएका थिए।
कार्यक्रममा आफ्नो सम्बोधन राख्दै सिक्किम प्रोवेशनरी एण्ड रेगुलर टिचर्स एसोसिएशनका प्रुमख संयोजक राजेश दाहालले अस्थायी शिक्षकहरूको पक्षमा केही मागहरू सरकारसमक्ष राखे जसमा अस्थायी शिक्षकहरू स्थायी हुने समयावधि ८ बाट घटाएर ५ वर्ष बनाइनुपर्ने र स्थायी भएका शिक्षकहरूले भत्ता पाउनुपर्ने प्रमुख रहेको छ। कार्यक्रम अवधि मुख्यमन्त्रीको बाहुलीबाट नाम्ची जिल्लाका विभिन्न विद्यालयका सरकारी छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई आदेशपत्र पनि प्रदान गरियो।
कार्यक्रममा अन्यहरूका साथमा सिक्किम सरकारका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको विशेष उपस्थिति रहेको थियो।