गान्तोक: सिक्किम राज्य खाद्य आयोग (एसएसएफसी) द्वारा सिक्किम सरकारको खाद्य एवम नागरिक आपूर्ति विभागको पहलमा राजधानीस्थित जनता भवनमा हिजो राष्ट्रिय खाद्य सुरक्षा ऐन, २०१३ माथि जागरूकता कार्यक्रम आयोजना गरियो।कार्यक्रममा प्रमुख अतिथिकारूपमा पूर्व जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी रहेका थिए भने विशिष्ट अतिथिमा गान्तोक नगम निगमका मेयर निल बहादुर छेत्री लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाअध्यक्ष अधिकारीले यस कार्यक्रमको अन्तरदृष्टि लाभदायक भएको र कार्यन्वयन गर्न सकिने आशा व्यक्त गरे। उनले मिड डे मीलमा प्रयोग हुने खानाको गुणस्तरलाई प्राथमिकता दिन सम्वन्धित अधिकारीहरुलाई आग्रह गरे। जिल्ला अध्यक्ष अधिकारीले सचेत र जिम्मेवार उपभोक्ता हुनुपर्ने विषयमा जोड दिए। यसै क्रममा एसके राईले कार्यक्रममा उनीहरूको सहभागिताको लागि सबैको प्रशंसा गरे। उनले स्वस्थ खाने बानी र पौष्टिक खानाको दैनिक उपभोगमा जोड दिनुपर्ने बताए। राईले स्वस्थ खानपानका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन सुझाउ दिए। आफ्नो सम्बोधनमा खाद्य तथा नागरिक आपूर्ति विभागकी सचिव नम्रता थापाले उपभोक्ताको दायित्वमा जोड दिँदै जनताको बृहत्त हितमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताउँदै विभागले गरेको पहलहरूबारे चर्चा गरिन्। उनले गुणस्तरिय र वातावरणीय मापदण्ड सुनिश्चित गर्न विशेष गरी प्रधानमन्त्री पोषण कार्यक्रमको सन्दर्भमा सम्बन्धित विभागले नियमित निरीक्षण गर्नुपर्ने सुझाउ दिइन्। सुश्री थापाले राज्यमा प्रवेश गर्ने खाद्यान्नको गुणस्तर नियन्त्रण केन्द्र स्थापना गर्न राज्य सरकारले गरेको पहलबारे जानकारी दिँदै थप सुधारका लागि विभागको व्यवस्थाको प्रभावी ढङ्गमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।