खरसाङ: यसपालीको तिहार आफ्नै क्षेत्रमा फुलेको सयपत्री र मंखमली फूलले मनाउने साथै पहाड़मै उत्पादन भएको फूलहरू र अन्य चीजहरूले मनाउने उद्देश्यले खरसाङको गोर्खे हाटको पहलमा दुई दिन १० र ११ नोभेम्बर फूल बिक्रीमा राखिएको छ। पहाड़कै फूलखेती र पहाड़मै भएको फूलहरू घर श्रृंगार्ने उद्देश्यले गोर्खे हाटमा राखिएको दुई दिनव्यापी फूल बिक्रीले मानिसहरूमा उत्साह देखिएको छ। प्रत्येक आईतबार गोर्खे हाट लाग्ने भए पनि यलपाली तिहारको अवसर पारेर दुई दिवसीय फूल बिक्रीमा पनि राखिएको छ। उक्त दुई दिनव्यापी फूल बिक्रीको पहिलो दिन आज पहाड़को विभिन्न स्थानहरूबाट ल्याइएको विभिन्न प्रजातिको फूलहरू र तिहारमा चाहिने सर सामानहरू बिक्रीमा राखिएको थियो। खरसाङ लाग्ने गोर्खे हाट परिसरमा नै बिहान १० बजेदेखि फूलहरू बिक्रीमा राखिएको थियो। विशेष तिहारमा चाहिने फूलहरू सयपत्री, मखमली, चितुच्याङ्गे लगायत गोदावरी र अन्य फूलहरू राखिएको थियो। यी फूलहरू बिजनबारी, दार्जिलिङ, खरसाङ, मिरिक, सिटोङ, रोहिणी, सिविटार लगायत अन्य स्थानहरूबाट ल्याएर राखिएको थियो। यसपाली पहाड़मै हुने फूलहरूले तिहार मनाउने भन्दै सबैले फूलहरू किनिरहेको देखियो। फूलहरूबाहेक तिहारमा चाहिने आँपको पात, दुबो, गोबार साथा कुच्चो र अन्य आवश्यक चीजहरू पनि राखिएको थियो। यसरी गोर्खे हाटमा आफ्नै दाजु भाइ ,दिदी बहिनीहरूले राखेका फूलहरू मानिसहरूले खुशीसाथ किनिरहेको देखियो। मानिसहरूमा एक प्रकारको उत्साह पनि देखियो। यसको साथै केही फूल बिक्रेताहरू र दोकाननेहरूले सयपत्री र मखमलीको बिक्रीमा देखिएको उत्साहप्रति खुशी व्यक्त गरेका छन्। साताको प्रत्येक आईतबार साग सब्जीहरू र अन्य सर सामानहरूका लागि गोर्खे हाट लाग्ने भए पनि तिहारको अघि दुई दिन यसरी आफ्नै क्षेत्रमा भएको फूलहरू किन्न पाउँदा मानिसहरूमा खुशी देखियो। दुई दिने फूल बिक्री विषयमा गोर्खे हाट खरसाङको सभापति बिजय सेञ्चुरीले हाम्रो प्रत्येक साता आईतबार हाट लाग्ने गर्छ नै तर यो तिहारको सिजनमा हामीले दुई दिने फूल बिक्रीको लागि छुट्टाएको र गोर्खे हाटले यसबाहेक अझैं अरु पनि अायोजना गर्ने बताएका छन्। उनले आफ्नै क्षेत्रमा फुलेको फूलहरूले यसपालीको तिहार मनाउने पहल गरिएको र धेरै वर्षपछि यसपाली आफ्नै ठाउँमा फुलेको सयपत्री र मखमलीको गन्धले मन्त्रमुग्ध बनाएको बताएका छन्। त्यसरी नै गोर्खे हाटको सचिव महेश छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको गोर्खे हाटके पहलमा सयपत्री, मखमली, गोदावारी र अन्य फूलहरू बिक्कीमा राखिएको साथै फूलबाहेक पनि तिहारमा चाहिने अाँपको पात, गोबर, दुबो, कुच्चो साथै अन्यहरू पनि राखिएको बताए। उनले यी फूलहरू हाम्रो पहाड़को विभिन्न स्थानहरूबाट बिक्रीमा राखिएको बताएका छन्। त्यसरी नै यस अवसरमा सिटोङको मामरिङ निवासी फूल बिक्रेता बिजय खवासले आफुले सिटोङको लोवर मामरिङबाट फूलहरू संकलन गरेर बिक्रीमा ल्याएको बताउँदै अरूबेला गोर्खे हाटमा सागसब्जीहरू बिक्री गर्ने गरेको र यो तिहारको सिजनमा फूलहरू बिक्रीमा राखिएको बताए। उनले यसरी आफ्नै क्षेत्रमा फुलेको फूहरूले तिहार मनाउनु राम्रो कुरा रहेको पनि बताए।

त्यसरी नै खरसाङको गौरी शंकर निवासी सुजता राईले आफुले बिजनबारीबाट फूलहरू ल्याएर बिक्रीमा राखेको बताइन्। उनले यस अवसरमा सयपत्री, मखमली, चिचुच्याङ्गे फूलहरू राखेको पनि बताइन्। त्यसरी दार्जिलिङ निवासी रबीन लेप्चाले सयपत्री र गोदावारी फूलहरू ल्याएर बिक्रीमा राखिएको बताए। यसको साथै स्थानीय गोल्मा तामाङले पत्रकारहरूसित कुराकानी गर्दै गोर्खे हाटको पहल सराहनीय छ अनि यो गोर्खे हाट खरसाङको हाट बजारामा प्रत्येक बिहीबार लागे झनै राम्रो हुने बताइन्। उनले यो तिहारको समय आफ्नै क्षेत्रमा फुलेको फुलहरु लिएर तिहार मनाउनु राम्रो पहल हो र यसको लागि आफु धेरै खुशी भएको र आफु यहाँ आएर फूलहरू किनेको बताइन्।