सिलगढी: सिलगढीस्थित खोलाचन्द फाप्रीको सामाजिक संस्था हिमाली युवा संघलाई बिहिबार मतिगढास्थित मेफेयर ग्रीन गोर्खा परिवारद्वारा नागरिक सम्मानले सम्मानित गरिएको छ। हिमाली युवा संघले स्थापनाकालदेखि समाजका बाल-बालिका, युवा-विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न खेलकूद, कला र सङ्गीतलाई प्रोत्साहन गर्दै गाउँ-घरमा पुस्तकालयको निर्माण गरेर नि:शुल्क शिक्षा प्रदान गर्दै आइरहेकोले गोर्खा परिवारद्वारा आयोजित तिहार देउसी-भैलो महोत्सव कार्यक्रममा नागरिक सम्मानद्वारा सम्मनित गरिएको गोर्खा परिवारका संस्थापक सदस्या प्रीति प्रधानले जनाइन्। सन् १९९९ सालमा सरकारी रुपमा पञ्जीकृत भएर समाजलाई शिक्षित अनि स्वच्छ बनाउने उद्धेश्यका साथमा सधैँ सक्रियरुपमा काम गरिरहेको हिमाली युवा संघ हाम्रो समाजको मेरुदण्ड हो र यस्ता संस्थाहरुलाई हामीले सधैँ सराहना गर्नुपर्छ भनी गोर्खा परिवारका अर्का संस्थापक सदस्य यकिन लामिछानेले बताए। आजको कार्यक्रममा सुप्रसिद्ध गायक बिक्रम कालिकोटे लगायत हिमाली युवा संघका अध्यक्ष परिमल थापा, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष विकास तिम्सिना लगायत संस्थाका सबै सदस्यहरु उपस्थित थिए। संस्थाले नागरिक सम्मान ग्रहण गरेको विषय प्रश्न गर्दा विकास तिम्सिनाले भने, पहिलो पिडीले १९९७ सालमा सामाजिक सेवाको भावना राखेर स्थापना गरेको हिमाली युवा संघलाई यतिबेला हामी दोस्रो पिडीले सम्हाल्ने कार्य गरिरहेका छौँ। गत तीन दशकदेखि निस्वार्थ भावले समाजप्रति गर्दै आएको सेवाको फल आज प्राप्त भएको छ। यस सम्मानले हामीलाई अझ धेरै कार्यहरु गर्नुपर्ने जिम्मेवारी थपिएको छ।
यसरीनै परिमल थापा एवं कृष्ण शर्माले सबैप्रति पुस्तकालय सञ्चालानमा चौतर्फी सहयोगको आह्वान गर्दै हाम्रो समाजलाई शैक्षिक रुपमा मजबुत पार्न सबैको सहयोगको खाँचो रहेको बताए।