गान्तोक: सिक्किमका विद्यार्थीहरूमा स्कूल तथा कलेज स्तरदेखि नै उद्यमिताको भावना विकास गराउने उद्देश्यका साथ ‘उद्यमशीलता एवं नवाचार प्रयोगशाला’ स्कूल र कलेजहरूमा स्थापना गरिने भएको छ।
सिक्किम उद्यमशीलता एवं आर्थिक विकास (सीड) प्रकोष्ठद्वारा स्थापना गरिने ‘उद्यमशीलता एवं नवाचार प्रयोगशाला’ को मुख्यमन्त्री पीएस तामाङले आज डिजिटल उद्घाटन गरे।
सिक्किम सरकारको सहयोगमा उद्यमिता विकासको क्षेत्रमा युवाहरूलाई प्रोत्साहन र सहयोग पुऱ्याउन कार्यरत सीड सेलले उद्यमशीलता एवं नवाचार प्रयोगशालाको माध्यमबाट स्कूल र कलेज स्तरदेखि नै विद्यार्थीहरूलाई उद्यमितको भावना विकास गराउन नयाँ उद्यम शुरु गर्न चाहनेहरूलाई पूर्ण सहयोग गर्ने बताइएको छ।
आज चिन्तन भवनमा सीड सेलद्वारा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री तामाङले उद्यमशीलता एवं नवाचार प्रयोगशालाको डिजिटल उद्घाटन गरेपछि उपस्थित विभिन्न कलेज र विद्यालयका विद्यार्थी अनि नव उद्यमीहरूलाई सम्बोधन गर्दै राज्यमा उद्यम स्थापना गर्ने प्रक्रियालाई सरल बनाउन साथै स्थानीय नव उद्यमीलाई सहयोग पुऱ्याउन सरकारले समर्पित भावनाका साथ काम गरिरहेको बताए। राज्यमा सरकारी नोकरीको अवसर सीमित बन्दै गएको अवस्थामा विद्यार्थीहरूलाई स्कूल तथा कलेजस्तरदेखि नै उद्यमिताको भावना विकास गराउनुपर्छ भन्ने उद्देश्यका साथ सीड सेलले उद्यमशीलता एवं नवाचार प्रयोगशाला स्थापनामा गरेको पहल स्वागतयोग्य बताउँदै मुख्यमन्त्रीले सीड सेलको टिमलाई बधाई दिए भने उनीहरूले शुरु गरेको पहललाई सफल बनाउन सहकार्य गर्न पनि आग्रह गरे।
सरकारी नोकरी र अन्य सहज अवसरहरूको सीमिततालाई ध्यानमा राखेर सरकारले एक परिवार एक उद्यम शुरु गर्नुपर्छ भन्ने पहल अघि बढाएको जानकारी गराउँदै मुख्यमन्त्रीले उद्यम क्षेत्रमा जान चाहनेलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। सीड सेलको माध्यमबाट स्थापना गरिने यो ल्याब अन्तर्गत उद्यम शुरु गर्न चहाने विद्यार्थीलाई ३ देखि ५ लाख रुपियाँसम्मको सहयोग गर्ने मुख्यमन्त्रीले बताएका छन्।
अहिले राज्यमा एक परिवार एक नोकरी चर्चाको विषयमा रहेको र यसै प्रकारको चर्चा गर्ने अवस्था एक परिवार एक उद्यमलाई पनि चर्चित बनाउनुपर्ने मुख्यमन्त्रीले उपस्थित विद्यार्थी र उद्यमीहरूलाई आग्रह गरेका छन्। आज शुरु गरिएको उद्यमशीलता एवं नवाचार प्रयोगशाला भविष्यमा सिक्किमको उद्यम क्षेत्रका लागि माइखुट्टी साबित हुनसक्नेछ भन्ने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे।
राज्यमा कम्पनी एक्ट २०१३ अहिलेसम्म विस्तार हुन सकेको छैन्। यो विस्तार गराउदाँ राज्यो पुराना कानूनलाई क्षति पुग्ने र विस्तार नगराउँदा राज्यमा नयाँ उद्यम शुरु असुविधा भइरहेको अवस्थामा सरकारले कम्पनी एक्ट २०१३ विस्तार गराउने याँ नगराउने भन्ने बारे अध्ययन गराउन कमिटी गठन गरेको मुख्यमन्त्रीले जानकारी दिएका छन्। यस बारे मानिसहरूबाट पनि सही सुझाउको माग गर्दै कमिटीको रिपोर्ट पछि सरकार चाँडै निष्कर्समा पुग्ने बताए।
यता स्थानीय नव उद्यमीलाई विभिन्न अवसर र सहयोगका लागि इन्डस्ट्रियल पार्क बनाउनुपर्ने सुझाउलाई सरकारले मध्य नजरमा राखेर काम गर्ने बताए। उनले स्टेट स्टार्टअप पोलिसी र सिक्किम इन्भेस्मेन्ट बोर्ड बनाउने विषयमा सरकारले पहल गर्ने बताए। सिक्किम इन्भेस्मेन्ट बोर्ड गठन गरेपछि यसलाई ५० करोड रुपियाँ सीड मनि दिने र नयाँ निर्माण गरिने उद्यमशीलता एवं नवाचार प्रयोगशालाको लागि पनि सरकारले अनुदान दिने मुख्यमन्त्रीले बताए।
यस अवररमा बोल्दै मुख्यमन्त्रीले सरकारद्वारा शुरु गरिएको मेरो रुख मेरो सन्तति कार्यक्रमले विश्वस्तरमा चर्चा र मान्यता पाएको जानकारी दिंदै यो सिक्किमेका लागि गौरवको विषय रहेको बताए।
कार्यक्रम अवधि सीड सेलका योजना निदेशक रिवाज छेत्री र उपमुख्य संयोजक दिपेन सुब्बाले सिक्किममा उद्यम क्षेत्र र नयाँ उद्यमीका लागि सीड सेलबाट हुने सहयोग बारे जानकारी राखेका थिए। यसरी नै इम्पलस एनजीओ नेटवर्ककी हसिना खारबीले डिजिटल माध्यमबाट विद्यार्थीलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखिन्।