सोरेङ: सोरेङ जिल्लाको महत्वकांक्षी ब्लक चुम्बुङले संकल्प सप्ताह कार्यक्रम पालन गऱ्यो। यो कार्यक्रम देशभरिको महत्वकांक्षी जिल्लाहरूमा पालन गरिॅंदैछ। महत्वकांक्षी ब्लक कार्यक्रम मार्फत सामुदायिक विकास र सशक्तिकरणमा केन्द्रित सप्ताहव्यापी प्रयास रहेको ‘संकल्प सप्ताह’ पहल अन्तर्गतको कार्यक्रम चुम्बुङमा सम्पन्न भयो।
सप्ताहको स्मरणार्थ कार्यक्रममा ‘समृद्धि दिवस’ र ‘शिक्षा एक संकल्प’ नामका दुई महत्वपूर्ण कार्यक्रमहरु गत ७-८ नोभेम्बरको दिन पालन गरिएको थियो। समृद्धि दिवस प्रत्येक वर्ष ७ नोभेम्बरमा पालन गरिन्छ। वित्तीय साक्षरता प्रवर्द्धनका साथै पीएम विश्वकर्मा योजनाको स्मरण गर्दै स्व-सहायता समूह को उल्लेखनीय उपलब्धिहरूलाई स्वीकार गरेर ७ नोभेम्बरमा चुम्बुङमा ‘समृद्धि दिवस’ पालन गरिएको हो।
सो कार्यक्रममा चुम्बुङका खण्ड विकास अधिकारी ओङदी शेर्पा लगायत अन्य अधिकरीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सामुदायिक विकास, वित्तीय साक्षरता र जीविकोपार्जन अभिवृद्धि जस्ता महत्वपूर्ण विषयहरूमा छलफल गरिएको थियो। समृद्धि दिवसले स्थानीय समुदायलाई बलियो बनाउन, ज्ञान र स्रोतहरू साझा गर्ने मञ्चको रूपमा काम गर्न सक्ने बताइएको छ।
उक्त कार्यक्रममा विशेष गरेर वित्तीय साक्षरतालाई बढावा दिने, पीएम विश्वकर्मा योजनामा व्यापक पहुँच सुनिश्चित गर्ने र तल्लो तहमा सकारात्मक परिवर्तन ल्याउन स्व-सहायता समूहहरूको असाधारण योगदानलाई मान्यता प्रदान गरिनुपर्ने विषयमा व्यापकरूपमा छलफल गरियो।