स्कूलहाट विभिन्न व्यक्तिहरूलाई सम्बर्ध्दना
खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलको वार्षिक कार्यक्रम साथै सम्बर्ध्दना कार्यक्रम सम्पन्न भएको छ।स्कूलको निर्देशक बीबी थापाको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने तथा स्कूलसित सम्बन्धित घैयाबारी र वरिपरिका विशेष व्यक्तिहरूलाई सम्मान जनाइएको छ।

उक्त कार्यक्रमलाई शिक्षकद्वय सन्तोष लामा र प्रवेग प्रधानले सञ्चालन गरेका थिए। सन् १९८८ सालदेखि स्थापित भएर प्ले ग्रुपदेखि दशौं श्रेणीसम्मको यस आईसीएससी स्कूलले वार्षिक रूपमा कार्यक्रम आयोजना गर्दै आएको छ। यसपाली पनि स्कूलको खेल मैदानमा सम्पन्न उक्त वार्षिक कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्बर्ध्दना जनाएको छ। यस क्रममा तीनधारे महानदी समष्टी स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन एकको विजेता सिविटार निवासी मोहित भुजेल, देशी भ्लगर युटुबर अर्जुन लामा, सोसियल मिडिया सेन्सेसनर डुप्छेन लामा, स्कूलको पूर्व विद्यार्थी एंव बीसीएमा कलेज टप्पर अभिजित, तीनधारे निवासी एल्डर मसीह प्रकाश मोक्तान र कोलकोता निवासी शिक्षा सल्लाहकार ( एडुकेशन काउन्सिलर) उज्जवल बन्दोबाद्यय आदिलाई स्कूलको पक्षमा सम्मान गरिएको छ।

यस क्रममा स्कूलको निर्देशक बीबी थापा, स्कूलकी प्रबन्धक लिला थापा साथै प्राचार्य मार्थारानी राई आदिको बाहुलीबाट खदार्पण साथै स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरिएको छ। यसै कार्यक्रममा उज्वल बन्दोपाद्ययको पक्षबाट स्कूलका निर्देशक, प्रबन्धक, प्राचार्य, सह प्राचार्य लगायत सबै शिक्षक शिक्षिकाहरूलाई उपहार प्रदान गरी सम्मानित गरिएको थियो। उनले आफ्नो छोटो सम्भाषण पनि राखेका थिए। कार्यक्रममा सम्मानित अतिथि युवा गायक मोहित भुजेल, राजु लामा, अभिभावकबाट गुल्शन विश्वकर्म, दिनेश लामा र शिक्षक सन्तोष लामा आदिले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थी नानीहरूले एकल र सामुहिक गीत, नृत्य, कविता, नाटक साथै कराँते प्रदर्शनी पनि गरेका थिए। यस क्रममा विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूले पनि गीत, नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा निर्देशक बीबी थापाले सम्बोधन राख्दै स्कूलले वार्षिक रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने गरेको र यसपाली स्कूलको वार्षिक कार्यक्रमसितै स्कूलको पूर्व विद्यार्थीहरू साथै स्कूललाई सहयोग गर्नेहरू, घैयाबारी र वरिपरिका प्रतिभाशाली व्यक्तिहरूलाई सम्मानित गरिएको बताए। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद पनि दिएका थिए।

यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्कूलका सह प्राचार्य प्रणाम थापाले घैयाबारीको ब्लु डाईमण्ड स्कूल १९८८ सालमा स्थापित भएर प्ले ग्रुपदेखि दशौं श्रेणीसम्मको अध्ययन गराइने गरेको बताउँदै स्कूलले विद्यार्थीहरूको चौतर्फी विकासको लागि प्रत्येक वर्ष वार्षिक कार्यक्रमहरू आयोजना गर्दै आएको र यसपाली पनि वार्षिक कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको पनि बताएका थिए।