सरकारी पाठशाला निजी पाठशालाभन्दा राम्रो हुँदैन भन्ने गलत धारणा परिवर्तन गर्नुपर्छ : अनित थापा
सोनादा: सोनादा क्षेत्रको शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको १२५औं स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित जीटीएको प्रमुख कार्यपाल अनित थापाले सरकारी पाठशाला निजी पाठशालाभन्दा राम्रो हुँदैन भन्ने गलत धारणा परिवर्तन गर्नुपर्छ भनी बताए। उनले गलत धारणाले समाजलाई कुप्रभाव पार्छ भन्दै भने, ‘कमान बस्तीको प्राथमिक पाठशालाहरू बन्द हुने स्थितिमा छ। कमान बस्तीका अभिभावकहरूले नानीलाई बजारको निजी पाठशालामा नै पढाउन चाहन्छन्। सरकारी पाठशालामा यो भएन र त्यो भएन भन्छौं। सरकारलाई गाली मात्र गर्छौ। अरूलाई दोष दिनुभन्दा हामीले हाम्रो रियालिटीलाई स्वीकार गर्नुपर्छ। यहाँको पाठशालाहरू उड्नु दिनु हुँदैन। अहिले गोर्खाको जन्म दर घटेर कहाँ पुगिसक्यो। हाम्रो जनसंख्या घट्दै जाँदैछ। यस्तो स्थितिमा एकदिन गोर्खा नै अल्पसंख्यक बन्दै जानेछ।”
अनित थापाले आफ्नो सम्बोधनमा अझ भने, ‘शान्ति रानी विद्यालयमा निजी विद्यालयहरूमा भन्दा प्रशिक्षित शिक्षक शिक्षिकाहरू छन्। तर हाम्रो गलत धारणाको कारण सरकारी विद्यालयमा अभिभावकहरूले आफ्नो नानी पढाउनु चाहँदैन। गलत अवधारणाले समाजलाई भताभुङ्ग पार्छ। यही अनित थापालाई २०१७ मा गोर्खाल्याण्ड बेच्यो भनेर गोर्खा विरोधीसम्म बनाए। तर म त्यस्तो व्यक्ति थिइन। मैले मान्छेको सोच अनि धारणालाई करीब पाँच वर्षभित्र परिवर्तन गरे। चुनाउ पनि जित्यौं। जसरी मलाई शुरु शुरुमा गाली मात्र गर्थे। आजकल मेरो कुरा बुझ्ने धेरै भएका छन्।”
थापाले भने, मानिसको धारणा परिवर्तन गर्न समाजका सबै मानिस नै लागि पर्नुपर्छ।अभिभावकले आफ्नो नानीहरूलाई सरकारी विद्यालयमा पढाउन पठाउने बनाउनुपर्छ। हाम्रो जाति, समाजको निम्ति हाम्रो धारणा परिवर्तन गर्नुपर्छ।”
उनले घोषणा गरे -‘यसपालीदेखि सोनादाका बाह्रौं कक्षाका विद्यार्थीहरुले सोनादामा नै बोर्ड परीक्षा लेख्नु पाउनेछन्।’ उनले तिहारपछि शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण शुरु हुने पनि बताए।

सोनादा पचेङस्थित शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयले आफ्नो १२५औं स्थापना दिवस पालन गऱ्यो। यस समारोहमा जीटीएका मुख्य कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभासद अनोश थापाले गरेका थिए भने विशिष्ट अतिथिको रूपमा पूर्व सांसद आरबी राई, डा मुन्नु शेर्पा, पूर्व आईपीएस अफिसर फुञ्चो शेर्पा, पूर्व शिक्षक देवकुमार प्रधान, सभासद प्रमोस्कर ब्लोन साथै अन्यको उपस्थिति रहेको थियो। यसै कार्यक्रममा शान्तिरानी उच्चत्तर माध्यमिक विद्यालयको पक्षमा जीटीए प्रमुख अनित थापा र सोनादा पचेङ समष्टीको सभासद अनोश थापालाई सम्बर्ध्दना जनाइएको छ। दुवैलाई विद्यालयको पूर्व विद्यार्थी एंव पूर्व सांसद आरबी राईको बाहुलीबाट सम्बर्ध्दना जनाइएको छ। शिक्षक सुमन तामाङ, शिक्षिकाहरू सुरेखा थापा र सुनिता तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण शिक्षक यौवन थापाले राखेका थिए। यस १२५औं स्थापना दिवस समारोहमा शान्तीरानी उच्चत्तर माध्यमिक विद्यालयको स्थापनाकाल १८८९ देखि २०२३ सम्मको यात्रा विषयमा प्रधान अध्यापक नरेन्द्र राईले विस्तृत रूपमा बताएका थिए। यसै कार्यक्रममा अतिथिहरूका बाहुलीबाट स्कूलको पत्रिकाको कभर लोकार्पण गरियो। कार्यक्रममा विशिष्ट अतिथिहरू पूर्व सांसद आरबी राई, डा. मुन्नु शेर्पा, सभाध्यक्ष क्षेत्रीय सभासद अनोश थापा आदिले पनि वक्तव्य राखेका थिए।