काठमाडौं: नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताएका हुन्। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गरेका हुन्। ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि तिब्बत सरकारले ५ करोड रुपैयाँ सहयोग दिने भन्नु भएको छ’, सापकोटाले भने। पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले प्रचण्डसँगको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको सल्लााहकार सापकोटाले जानकारी दिए। यस्तै भेटका क्रममा संघीय मामिला मन्त्रालयसँग सन् २०२४ देखि २०२८ सम्म नेपालको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्नका लागि २० मिलियन आरएम्बी (२६ करोड ४५ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने बारे एमओयू गर्ने विषयमा छलफल भएको छ। वाङको नेपाल भ्रमणकै क्रममा मन्त्रालयसँग यस विषयमा एमओयू हुने छ। डिसेम्बर १३ बाट केरला नाका सञ्चालनमा ल्याउने र परम्परागत नाकाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिए ।सीपीसीका नेता वाङले तिब्बतको ल्हासा विमानस्थल पूननिर्माणको काम सम्पन्न भइसकेको भन्दै छिट्टै नेपाल र ल्हासाबीच पुनः हवाई सञ्चालन गर्ने बताएका छन्। यससँगै चिनियाँ राष्टङपति सी चिनफिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका सहमति र सम्झैतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि भेटमा छलफल भएको छ। प्रचण्डले उक्त सम्झौता कार्यान्वयनमा लैजानका लागि चिनियाँ पक्षले देखाएको सक्रियताका लागी सीपीसी नेतालाई धन्यवाद व्यक्त गरेका छन्। वाङले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए।