असम: पूर्वोत्तर भारत असमको अखिमपुरमा जारी अन्र्तराष्ट्रिय नाट्य उत्सवमा नेपाली नाटक ‘म्लेच्छ’ मन्चन गरिएको छ। नेपालको प्रतिनिधित्व गर्दै झापाको परिवर्तन थिएटरले ५ नोभेम्बरको दिन तेस्रो अभिनव नाट्य उत्सवमा ‘म्लेच्छ’ मन्चन गरेको हो। नेपाली नाटकलाई स्थानीय नेपालीभाषी र रैथाने असमियाहरुले मन पराए। माझाउबाट नाटक हेर्न आएका पूर्व शिक्षक नेपालीभाषी पद्म शर्माले नाटकले मन छोएको प्रतिक्रिया दिए। ‘नेपाली भाषाबाट मन्चन भएकाले हामीलाई नाटक बुझ्न सजिलो भयो’, शर्माले भने।

आइतबार नै कोलकातास्थित शान्ति निकेतनको टोलीले रविन्द्रनाथ टैगोरको ‘चण्डालिका’लाई गीति नाटकको रुपमा प्रस्सुत गरेको थियो। श्रीरामपुर तपष्या कोलकाताको अर्को टोलीले बंगाली लोक नृत्य देखाएका थिए। पाँच दिने नाट्य उत्सवमा नेपाल, बंगलादेश र भारतको विभिन्न प्रान्तका दर्जन बढी नाटकहरु प्रदर्शन हुने आयोजक कमिटीका सचिव दयालकृष्ण नाथले जनाए। उनले आउँदो दिनमा पनि अन्र्तराष्ट्रिय नाट्य उत्सवलाई निरन्तरता दिने जनाए। उनले भने,‘आफ्नै बलबुतोबाट गाउ“मा नाटक उत्सव आयोजना गर्नु कम चुनौतीपूर्ण छैन।’

पहिलो र दोश्रो नाट्य उत्सवमा काठमाडौको शिल्पी थिएटरले सहभागिता जनाएको थियो। सुपरिचित पत्रकार पर्वत पोर्तेलको लेखन र गणेश बस्नेतको निर्देशन रहेको नाटमा आदिवासीहरुको दुःखलाई मिहिन ढंगले केलाउने प्रयत्न गरिएको छ। यो नाटक गत महिना १२ अक्टोबरदेखि २१ अक्टोबरसम्म काकडभिट्टास्थित परिवर्तन थिएटरमा मन्चन गरिएको थियो। नाटकमा निर्देशक बस्नेत, कविता नेपाल, लीला विष्ट, एन्जल खड्का, अनिश वस्नेत, लोमश पौडेल, सुष्पा पोख्रेल, प्रतिक्षा आचार्य, गगन क्षेत्री, संजोग राई, कविता पौडेल, नवराज पाठक, झरना खनाल, कृष्ण पौडेल, सरोज जिरेल र भावना नेउपानेले उत्कृष्ठ अभिनय गरेका छन्। एक विज्ञप्तिमार्फत् परिवर्तन थिएटरको पक्षमा नाटककार-पत्रकार पर्वत पोर्तेलले यो जानकारी गराएका छन्।