१९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो म्याचमा डीएम इलेभेनले दार्जीलिङ टाउन भेटरन क्लबलाई २-१-ले पराजित गऱ्यो। पूल जी-को यस म्याचमा विजेता टीमबाट एनोक थापाले २ गोल गरे। यसबाहेक दार्जीलिङ टाउन भेटरनबाट अजय थापाले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा घुम जोरबंगलो स्पोर्टिंग क्लबले डिस्ट्रिक्ट दार्जीलिङ हस्पिटल एससी (डीडीएचएससी)-लाई ४-१-ले पराजित गऱ्यो। ग्रुप एच-को यस म्याचमा विजेता टीमबाट छेवांग तामाङले ह्याट्रिक गरे। यसबाहेक एक गोल साहिल तामाङले छिराए। यसरी नै डीडीएचएससी-बाट अमन शेर्पाले १ गोल गरे।