गान्तोक: हिन्दु धर्मावलम्वीहरूको महान पर्व दिवाली यस वर्ष स्वच्छ अनि पर्यावरणमैत्री दिवालीको रुपमा पालन गर्ने दिशामा सर्वसाधरणलाई प्रोस्ताहित गर्न राज्य सरकारले स्वच्छ दिवाली, शुभ दिवाली अभियान शुरु गरेको छ। राज्य सरकारको शहरी विकास विभागको तत्वावधानमा यो अभियान ६ देखि १२ नोभेम्बरसम्म चल्नेछ। यस अभियानमा एकल प्रयोगको प्लास्टिकको प्रयोगमा कमी अनि स्थानीय उत्पादनहरूको प्रयोगमा अधिक ध्यान दिइएको छ।

विभागले यस योजनाअन्तर्गत स्वच्छ अनि पर्यावरणमैत्री दिवालीलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा हस्ताक्षर अभियान चलाउने भएको छ। यसै क्रममा आज राजधानीको एमजी मार्गमा हस्ताक्षर अभियान आयोजना गरिएको थियो जसमा सर्वसाधरणले उत्साहपूर्वक सहभागिता जनाएका थिए। यसरी नै राज्यका सबै स्थानीय शहरी निकायहरूमा यो कार्यक्रम आयोजना गरिने बताइएको छ।