खरसाङ: चाढ़-बाढको समयमा कतिपय बिरामीहरूलाई रक्त चाहिएको खण्डमा यसको धेरै अभाव हुने गर्दछ। यस अभावलाई पूर्ति गर्न रक्तदान शिविरको आवश्यकता रहेकोले खरसाङ फुटबल एसोसिएशन अनि खरसाङ ब्याडमिन्टन एसोसिएशनले, सिलगढ़ी-तराई लायन्स ब्लड ब्यांकबाट एउटा पत्र प्राप्त गरेका थिए। यसै विषयमा विचार विमर्श गर्न आज खरसाङको एक निजी होटलमा सभा सम्पन्न भयो। यस सभामा खरसाङ महकुमाको धरैवटा प्रतिष्ठित खेल संस्थाहरूले अंश ग्रहण गरेका थिए जसमा खरसाङ फुटबल एसोसिएशन, खरसाङ ब्याडमिन्टन एसोसिएशन, खरसाङ टेबिल टेनिस एसोसिएशन, खरसाङ बडीबिल्डिङ एसोसिएशन, सितोरियो कराँते एसोसिएशन अनि अन्य एसोसिएशनका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस सभामा आगामी ११ नोभेम्बर २०२३ शनिबारको दिन बिहान १० बजेदेखि खरसाङ ब्याडमिन्टन हलमा रक्तदान शिविरको आयोजना हुने निश्चय गरिएको जानकारी गराइएको छ। यस विषयमा पत्रकार सम्मेलन बोलाएर खरसाङ ब्याडमिन्टन एसोसिएशनका सचिव पियुष राई अनि खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले विस्तृत रूपमा जानकारी गराएका छन्।