गान्तोक: जर्नलिस्ट युनियन अफ सिक्किमको कार्यालयमा आज न्यु वेभ म्युजिक एकाडमीको पहलमा पत्रकार सम्मेलन आयोजना गरियो। उक्त सम्मेलनमा विशेष गरेर आगामी दिनमा हुन गइरहेको विन्टर म्युजिक फेस्टबारे जानकारी गराइयो। यो म्युजिक फेस्टको यसपालि चौथो संस्करण हुन गइरहेको छ, जसको अडिसन राउण्ड सिलगढीबाट शुरु भइसकेको छ भनेदेखि सिक्किममा पनि आगामी २४ नोभेम्बरको दिन गान्तोकको नामनामस्थित एक होटलमा अडिसन हुने जानकारी न्यु वेभ म्युजिक एकाडमीका संस्थापक प्रतिमा राईले जानकारी दिइन्।यस अघिका सिजनहरुमा पनि सिक्किमका युवा कलाकारहरुले उत्साहपूर्वक भाग लिएको कारण यसवर्ष पनि सिक्किमका प्रतिभाहरुलाई मौका दिने उद्देश्यले पत्रकार सम्मेलन गरेको उनले थप बताइन्। यसरी नै वर्णमालाका संस्थापक साथै निर्देशक दिवाशिष मोथेले यस फेस्टबारे जानकारी गराउँदै यसपाली विशेष गरेर पारम्परिक वाद्य वादनहरुको प्रतिस्पर्धा मुख्य आकर्षण रहने बताए।सिक्किमका धेरै युवा कलाकारहरुको पारम्पिक वाद्य वादनहरुतर्फ झुकाव र चासो रहेकाले यहाँबाट धेरै प्रतिस्पर्धीहरु आउन सक्ने आशा व्यक्त गरे। न्यु वेभ म्युजिक एकाडमीले संगीतको क्षेत्रमा तालिमहरु दिँदै आइरहेको र यस प्रकारको कार्यक्रमले कलाकारहरुलाई प्रेरणा दिने साथै मञ्च प्रदान गर्ने भएकोले म्यूजिक फेस्टको आयोजना गरिनुको औचित्य रहेको जानकारी एकाडमीका प्रडक्सन प्रबन्धक कल्याण शर्माले दिए। यसरी नै सिक्किमबाहेक दार्जीलिङ, डुवर्स अनि सिलगढीमा पनि अडिसन गर्ने योजना रहेको उनले थप जानकारी दिएका छन्।