वर्तमान सरकार कृषकहरूको पक्षमा खडा छः अध्यक्ष यम कुमार मिश्रा
गान्तोक: बुर्तक निर्वाचन क्षेत्र अन्तर्गत पर्बिङमा कृषकहरूलाई लिएर सचेतना कार्यक्रम साथै वोनस वितरण कार्यक्रम सम्पन्न भयो।
यस अवसरमा मुख्य अतिथिकोरूपमा सिक्किम मिल्क यूनियनका अध्यक्ष यम कुमार मिश्रा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्राले सिक्किम मिल्क यूनियनले गत केही महिनादेखि राज्यभरि नै कृषकहरूलाई लिएर सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको बताए। विशेष गरेर यस प्रकारको कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य कृषकहरूको गुनासो साथै समस्या सुनेर समाधानको दिशामा पहल गरिनु रहेको उनको भनाइ रहेको थियो।
कार्यालयमा बसेर कृषकहरूको समस्या बुझ्न नसक्ने भएको कारण प्रत्येक गाउँमा गएर कृषकहरूको गुनासो सुन्नको निम्ति यस प्रकारको कार्यक्रम राज्यभरि नै आयोजना गरिरहेको उनले जानकारी गराए। यस प्रकारको कार्यक्रम आयोजना गर्नाले कृषकहरूलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ पुग्न सक्ने उनले विश्वास व्यक्त गरेका छन्।
गाउँमा कुन प्रकारको व्यवसाय शुरू गर्दा ठीक हुन्छ भन्नेबारे स्थानीय पञ्चायतहरूलाई थाह भएको कारण यसको निर्णय र पहल पनि पञ्चायतहरूले नै गर्नुपर्ने सुझाउ दिए। हालसम्म सिक्किम मिल्क यूनियनमा १५-२० हजार ग्वालाहरूको नाम पञ्जीकरण भएको पनि उनले थप जानकारी गराए। वर्तमान सरकार ग्लावाहरूको हितमा रहेको कारण हाल राज्यका कृषकहरूको आर्थिकस्तरमा केही सुधार आएको उनले दावी गरेका छन्।
यसै क्रममा एसएमयूका प्रबन्धन निर्देशक डा. टीबी घतानीले एसएमयूको मुख्य उद्देश्य वर्तमान परिपेक्ष्यमा ग्वालाहरूको संख्यामा वृद्धि गरेर दुध उत्पादनलाई बढावा दिनु रहेको बताए। यो संस्थान विशेष गरेर १९८० देखि राज्यमा सञ्चालन भएको र यो संस्थान विशेष गरेर कृषकहरूको निम्ति रहेको अवगत गराए।
यस संस्थालाई अघि बढाउन ग्वालाहरूको अहंम भूमिका रहेको पनि उनको भनाइ रहेको छ। हालसम्म राज्यमा ५३० वटा पञ्जीकृत सहकारी समिति रहेको उनले जानकारी गराए। आजको यस कार्यक्रममा ग्लावालाहरूलाई एसएमयूले कमाएको केही मुनाफाबाट वोनस पनि प्रदान गरियो।