गान्तोक:सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा प्रकोष्ठको केन्द्रिय कार्यकारिणी समिति अनि जिल्ला कार्यकारिणी समितिमाझ समन्वय सभा सम्पन्न भयो। एसकेएम युवा मोर्चा उपाध्यक्ष प्रभारी एवं मन्त्री सञ्जीत खरेलको अध्यक्षतामा सम्पन्न समन्वय सभामा युवा मोर्चा अध्यक्ष लाक्पा मोक्तान, युवा मोर्चा समन्वयक सहदेव शर्मा, राज्य स्तरीय युवा मोर्चाका पदाधिकारीगण लगायत राज्यका सबै जिल्लाका कार्यकारिणी समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा छःवटा जिल्लाका समन्वयक अनि महासचिवहरूले आ-आफ्नो जिल्लामा भइरहेको विभिन्न गतिविधिवारे रिपोर्ट पेश गरे। यसका साथै सबैले आ-आफ्नो पक्षबाट सल्लाह, सुझाउहरू पनि राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री एवं एसकेएम युवा मोर्चा उपाध्यक्ष प्रभारी सञ्जीत खरेलले सबैलाई गुटबाजी नगरी केवल पार्टीको निम्ति कार्य गर्ने आग्रह गरेका छन्। जनप्रिय नेता प्रेमसिंह तामाङको नेतृत्वमा एसकेएम पार्टीमा बस्न नसक्नेहरूलाई कुनै पनि पार्टीमा अँटाउन नसक्ने पनि उनले विचार व्यक्त गरे।
यसरी नै सभालाई सम्बोधन गर्दै युवा मोर्चाका राज्य स्तरीय समन्वयक सहदेव शर्माले सबै युवाहरूलाई पार्टीको अनुशासनभित्र रहेर कार्य गर्ने आग्रह गरे। आज सिक्किम राज्य मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा जसरी विकासको पथमा अघि बढ़िरहेको छ अनि सिक्किमले जे-जस्तो उपलब्धि हासिल गरिरहेको छ यसले सबैको मूल्यांकन भइरहेको विचार पोखेका छन्। सिक्किम जबसम्म एसडीएफमुक्त हुँदैन तबसम्म युवाहरूको क्रान्ति जारी रहने उनले कटिबद्धता व्यक्त गरे। यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लाक्पा मोक्तानले वर्तमान सरकारमा भइरहेको विभिन्न विकासीय कार्यहरूबारे जानकारी गराए। पूर्व मुख्यमन्त्री जसले आफ्नो नामको अघि डाक्टर थप्न मरिहत्ते गर्ने तर वर्तमान मुख्यमन्त्रले भने कसरी सिक्किमे गरीब नानीहरूलाई डाक्टर बनाउनु पर्ने हो त्यो दिशामा काम गरिरहेको बताए। सिक्किमले प्रेमसिंह तामाङ जस्तो नेता पाउनु गर्वको विषय रहेको उनले बताए। त्यो समय र अहिले धेरै फरक रहेको पनि उनले बताए। कुनै पनि युवामुखी योजनाहरू तत्कालीन मुख्यमन्त्रीसमक्ष पुर्याउँदै पत्तै नदिने गरेको तर वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले ती युवाहरूलाई उचित मञ्च प्रदान गरिरहेको मन्तव्य पोखे। राजनीति तपस्या हो भने अनुशासनभित्र रहेर मात्र यो तपस्या पूरा हुने पनि उनले बताए। अब सबै युवाहरूले ग्रामीण क्षेत्रमा जिम्मेवारीपूर्वक सरकारले गरिरहेको कार्यहरूलाई लिएर अघि जानुपर्ने पनि उनले सबैलाई आग्रह गरेका छन्।