सोरेङ: स्थानीयहरूको गुनासो साथै समस्या समाधान गर्ने उद्देश्यका साथ सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज सोरेङ जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्रमा अस्पतालका अधिकारी साथै रोगीहरूसँग अन्तरक्रिया गरे।
यस अवसरमा जिल्लापाल ठटालले अस्पताला उपलब्ध सुविधाको बारेमा जानकारी लिँदै स्वास्थ्य अधिकारी तथा कर्मचारीहरुलाई औषधिको उचित अभिलेख राख्नुपर्ने, अस्पतालमा प्रयोग गरिने मेशिन तथा उपकरणको विस्तृत अवस्था, सीएचसीको समग्र मर्मत आदिबारे केही निर्देशन दिए। डाक्टर र कर्मचारीको अनुपस्थिति र हाजिरी रेकर्डमा भएको अनियमिततामाथि पनि उनले प्रश्न उठाउँदै यसको अवलोकन गर्न स्वास्थ्य विभागलाई सचिवलाई पठाएको बताए।
यसका साथै उनले अन-कल इमर्जेन्सीका बेला डाक्टरको उपलब्धता, आपतकालिन विषयमा र विभागीय सम्पत्तिहरू सञ्चालन गर्नेबारेमा जानकारी लिए। अवलोकनपछि जिल्लापाल ठटालले आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत सोरेङ जिल्लाका चारवटै प्राथमिक स्वास्थ्य केन्द्र (पीएचसी) मा केही आवश्यक सुविधाहरू र न्यूनतम परीक्षण सुविधा उपलब्ध गराइने आश्वासन दिए।
उनले जिल्लाका लागि तोकिएको सीएमओको नियुक्ति अत्यावश्यक भएको भन्दै माथिल्लो निकायलाई जानकारी गराइसकेको बताए। उनले बिरामीको डिजिटल पञ्जीकरण लागू गर्न पनि सुझाउ दिए। यस्ता पीएचसीहरूको उचित व्यवस्थापनका लागि नियमित प्रशासनिक कामको हेरचाह गर्न प्रशासनिक अधिकारीलाई नियुक्ति गर्नु उपयुक्त हुने पनि जानकारी गराए।
चिकित्सक, मानसिक स्वास्थ्य सल्लाहकार र अन्य कर्मचारीसँगको अन्तरक्रियामा जिल्लापालले काउन्टरमा औषधि बिक्री गर्ने र औषधि पसलले विना पर्ची औषधि दिने चलनलाई नियमन गर्नुपर्ने बताए।