नाम्ची: सिक्किम प्रोबिसनेरी एण्ड रेगुलर टिचर्स एसोसिएसन (स्पार्टा)-ले आगामी ११ नोभेम्बरको दिन नाम्चीको किसान बजारको सम्मेलन हलमा राष्ट्रिय शिक्षा दिवस २०२३ पालन गर्ने भएको छ। देशका पहिलो शिक्षा मन्त्री मौलाना आजादको जन्म जयन्तीमा प्रतिवर्ष पालन गरिने राष्ट्रिय शिक्षा दिवसको राज्य स्तरीय कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहने भएका छन्। यसबारेमा आज स्पार्टाका अध्यक्ष योगेश शर्माको अगुवाईमा रहेको प्रतिनिधि टोलीले पत्रकार सम्मेलन आयोजन गरेर उक्त कार्यक्रममा विशेष गरेर नयाँ शिक्षा नीति २०२१ अर्थात् एड्हक रेगुलराइजेशन पोलिसी २०२१ अन्तर्गत स्थायी भएका अनि नियुक्ति पाएका सबै शिक्षकहरूलाई उक्त कार्यक्रममा स्वागत जनाएका छन्। यसबारे आफूहरूले सबैलाई निमन्त्रणा पठाइसकेको जानकारी गराउँदै कहीं छोड़िएको छ भने ती शिक्षकहरूलाई निम्ति पनि आजको पत्रकार सम्मेलनमार्फत स्पार्टाका अध्यक्ष योगेश शर्माले निम्तो दिएका छन्। सो दिनको निम्ति छुट्टीको बन्दोबस्तो गरिसकेको जानकारी गराउँदै सो कार्यक्रम फलदायी हुनसक्ने उनले विश्वास व्यक्त गरे।
नयाँ शिक्षा नीति २०२१ अन्तर्गत हालसम्म लगभग १२०० जना एड्हक शिक्षकहरू स्थायी बनेको जानकारी गराउँदै वर्तमानमा प्रोबिसनेरी शिक्षकहरूको लगभग १६ वटा समस्याहरूको समाधानहेतु राज्य सरकारसमक्ष आफूहरूले निवेदन गरिसकेको जानकारी गराउँदै सो दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले यसबारे सम्बोधन गर्ने उनले अवगत गराएका छन्। मापदण्ड पूरा नभएर स्थायी हुन नसकेका विगतका नन टिचिङ स्टाफ, संस्कृत शिक्षक लगायत अन्य समस्याबारे पनि आफूहरूले मुख्यमन्त्रीसमक्ष जानकारी गराइसकेको अनि यसबारेमा पनि मुख्यमन्त्रीबाट उचित पहल हुने उनले आशा व्यक्त गरे।
यसरी नै संगठनका महासचिव वाङ्दी छिरिङ भोटियाले विगतका एड्हक अनि वर्तमानका प्रोबिसनेरी शिक्षकहरूको धेरै समस्याहरू वर्तमान सरकारले समाधान गर्दै आइरहेको उल्लेख गर्दै थाँतीमा रहेका अन्य समस्याहरू पनि समाधान हुने कुरामाथि विश्वास जनाए। आजको सम्मेलनमा स्पार्टाका कोषाध्यक्ष अमित प्रधान अनि कार्यकारी सदस्य हरिप्रसाद शर्मा साथमा रहेका थिए।