
उन्मुक्तता बिचार मेरो,
खै कता पुग्छ कता पुग्छ।
कोलाहल परिवेशमा पनि
लाग्छ एकलै एकलै…!
देख्नलाई त हिँडिरहेछु
यो सांसारिक बथानमा।
खचाखच छ परिवेश,
परिस्थिति, परियोजना
यसै प्रवाहमा पनि
किन किन सुनसान छु म।
यो घर,
कोठा,
बस्तु,
भीडहरू
सबै विभ्रम
र काल्पनिक लाग्छ
अनि निरन्तर खेल्छु
म प्रज्ञा अनि आस्थासँग।
सूर्योदयको दैनिक क्रिया जस्तै
भित्रभित्रै छन्
आस्थाका यामहरू।
जिन्दगीमा…..
कैयौं घात
प्रतिघात पन्छाएर
नयाँ गोरेटोमा पाइला चाल्दैछु।
जहाँ सम्पन्न,
सम्पत्ति,
सन्तान
निराकार छन्।
जिन्दगीको हिसाब किताब केही छैन।
पाउनु हराउनु केही छैन।
न सपनाको छ कुरा,
न बिपनाको छ कुरा,
सत्य असत्यको कुरै नगरौँ।
न आशा नै छ,
न निराशा नै छ।
आँशु र हाँसोको केही मोल छैन।
भ्रममा थिएछु शायद….!
अब…..अब….
छैन केही….
छैन…केवल शून्य…!
शून्य आकाश
शून्य हृदय
शून्य म
अनि
शून्य अनि महाशून्य।।।
(लेखिका भारतीय नेपाली साहित्यको संसारमा सुपरिचित महिला कवि एवं गजलकार हुनुहुन्छ)