काठमाडौं: चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिए। नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ।
बिहीबार बिहान ८ बजे उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने कार्यतालिका छ। सोही दिन बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग पनि भेटवार्ता गर्दै छन्। यी भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान-प्रदानका विषयमा केन्द्रित हुने छन्। साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार सापकोटाको भनाइ छ। तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन्।