नाम्ची: नाम्चीमा आज दोस्रो राज्यस्तरीय अन्तर स्कूल पुरूष र महिल ावर्ग भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयो। यस प्रतियोगिताको आयोजना राज्य सरकारको खेल एवं युवा मामिला विभागको सहयोगमा सिक्किम भलिबल एसोसिएशनले गरेको हो।
कार्यक्रममा नयाँ बजार- जोरथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रूपमा नाम्ची एसएसएसका प्राचार्य हरि थापा र एमभीआई फ्रान्सिस राई रहेका थिए।
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको पुरूष वर्गको फाइनल खेलमा सामदुङ एसएसएसलाई पराजित गरेर नाम्ची एसएसएस विजयी बन्यो। महिला वर्गको फाइनल खेलमा नाम्ची गल्स एसएसएसलाई मञ्जुश्री पब्लिक स्कूलले पराजित गऱ्यो।
कार्यक्रमलाई रोचक बनाउन प्रदर्शनीको रूपमा भेट्रन भलिबल खेलको पनि आयोजना गरिएको थियो। यस खेलमा दरामदिन भेट्रनले नाम्ची भेट्रनलाई पराजित गऱ्यो। कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियो।
आयोजक संघका कोषाध्यक्ष लक्ष्मीप्रसाद थापाले सञ्चालन गरेको यस कार्यक्रममा आयोजक संघका अध्यक्ष गणेश राईले स्वागत भाषण र महासचिव नर्बु लेप्चाले धन्यवाद ज्ञापन दिएका थिए। कार्यक्रममा भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, विभिन्न संघ-संस्थाका प्रतिनीधिगण आदिको उपस्थिति रहेको थियो।