गान्तोक: अमिताबा विद्यालयले आज आज आफ्नो वार्षिक कन्सर्ट मनन केन्द्रमा भव्यताको साथमा आयोजन गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई उपस्थित थिए।
आजको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले विद्यालयलाई बधाई अनि शुभकामना दिए। विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको उनले प्रशंसा पनि गरे। गुणस्तरीय शिक्षा व्यवस्था स्थापना गर्ने दिशामा पहल गर्दै सिक्किम सरकारले आगामी वर्षदेखि राज्यका शिर्ष तीन निजी विद्यालयलाई प्रोत्सहान स्वरूप पुरस्कार प्रदान गर्ने घोषणा गरिसकेको उनले बताए। उनले बताएअनुसार राज्यको शिक्षा विभागले आगामी वर्षदेखि यो पुरस्कार दिनेछ जसमा प्रथम हुने विद्यालयले रू. २० लाख रुपियाँ प्राप्त गर्नेछ। यसरी नै दोस्रो र तेस्रो स्थानमा आउने विद्यालयले क्रमैले १५ र १० लाख रुपियाँ प्रदान गरिनेछ।
कतिपय नियम कानूनको कारण सरकारले निजी विद्यालयहरूलाई सोझो धनराशि दिएर सहयोग गर्न नसक्ने भएकोले यो पुरस्कारको घोषणा गरिएको मुख्यमन्त्री तामाङले बताए। यसरी पुरस्कार प्रदान गरिनुको पछि यसले निजी विद्यालयहरूमा सकरात्मक प्रतिस्पर्धाको भावना जाग्ने र त्यसले राज्यका विद्यार्थीहरूलाई फाइदा पुग्ने सरकारको सोच रहेको छ।
पुरस्कारको रुपमा प्राप्त धनराशीको २५ प्रतिशत त्यसै विद्यालयमा कार्यरत कर्मचारीहरूमा खर्च गरिनुपर्ने नियम बनाउने मुख्यमन्त्री तामाङले शिक्षा विभागलाई सुझाउ दिएका छन्।