गान्तोक: सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले सिक्किम विधानसभामा नेपाली समुदायको सीट पुनर्बहाली मुद्दालाई तीब्रताका साथ अघि बढाउने भएको छ।
वर्तमानमा पार्टीका अन्य मुद्दाबारे ज्यादा ध्यान केन्द्रित नगरेर केवल विधानसभामा नेपाली समुदायको सीट पुनर्बहालीमा पार्टीले काम गर्ने एसआरपी अध्यक्ष केबी राईले बताएका छन्।
सीट पुनर्बहालीको मुद्दालाई लिएर एसआरपीले सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) सँग सहकार्यको प्रस्ताव पार्टीले अघि बढाउन सक्ने अध्यक्ष केबी राईले जानकारी दिएका छन्। गत 5 नोभेम्बरमा आयोजित सिब्ल्याक सम्मेलनमा भोटिया लेप्चा समुदायको सुरक्षाका लागि नेपाली समुदायको विधानसभामा सीट पुनर्बहाली आवश्यक रहेको विषय प्राथमिकताका साथ उठेको दाबी गर्दै यदि सिब्ल्याक नेपाली समुदायको सीट पुनर्बहालीलाई सबैको सुरक्षाको विषय स्वीकार गर्नसक्छ भने एसआरपीले पनि अघिबाटै उठाउँदै आएका अन्य मुद्दालाई केही समय अलग राखेर केवल सीट पुनर्बहालीमा काम गर्ने बताए।
यसका लागि पार्टीले चाँडै सिब्ल्याकका नेतृत्वपंक्तिसँग औपचारिक बात गर्ने केबी राईले बताएका छन्। आज गान्तोकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसआरपी अध्यक्ष केबी राईले नेपाली सीट पुनर्बहाली विषयलाई लिएर नयाँ राजनैतिक समिकरण बन्नसक्ने सम्भावना व्यक्त गरेका छन्। ५ नोभेम्बरको सम्मेलनमा सिब्ल्याकका प्रमुख संयोजक छितेन टाशी भोटियाले अध्यय, चिन्तन, दस्तावेज र प्रमाणका साथ विभिन्न विषयको उठान गरेका बताउँदै केबी राईले सिक्किम रिपब्लिकन पार्टीको पक्षबाट छितेन टाशी भोटियालाई धन्यवाद दिंदै सिब्ल्याक संयोजकले उक्त सम्मेलनमा राखेका विषयलाई एसआरपीले स्वीकार गरेको जानकारी दिए।
जानकारी गराइन्छ, सिक्किम रिपब्लिकन पार्टीले सिक्किम विधानसभा अन्तर्गत सीट आरक्षणको ढाँचामा राजनैतिक समानता नभएको र यसलाई समानुपातिक सिद्धान्तमा आरक्षित गरिनुपर्छ भन्ने मुद्दालाई प्रमुखताका साथ अघि बढाउँदै आएको छ। तथापि, अहिलेलाई भने सिक्किमले पाएको विशेष सुरक्षा कवच धारा ३७१एफ अन्तर्गत नेपाली सीट आरक्षणको प्रावधान पुनर्बहाल हुनुपर्छ भन्ने विषयमा पार्टीले केन्द्रित भएर काम गर्ने केबी राईले बताए।
यस मुद्दामा सिक्किम रिपब्लिकन पार्टी पूर्ण इमान्दार रहेको दाबी गर्दै केबी राईले सिक्किमेली जनतालाई पार्टीप्रति विश्वास गरिदिन पनि आग्रह गरे। पार्टीले सीट पुनर्बहालीलाई प्राथमिकता दिएपनि तर समान अधिकारको मुद्दा भने अलग नरहने बताए। पहिला सीट पुनर्बहाली भए पछिबाट भोटिया-लेप्चा र नेपालीमाझको आपसी समझदारीमा समान अधिकारको मुद्दा पनि समाधान हुनेछ भन्ने राईले विश्वास व्यक्त गरे।
अर्कोतिर उनले नेपाली सीट पुनर्बहाली मुद्दामा पूर्व मुख्यमन्त्री पवन चामलिङको खुलेर आलोचना गरे। २०१६ मा संघ विधायक सोनामा लामाले सिक्किम विधानसभामा नेपाली समुदायको सीट पुनर्बहाली बारे निजी प्रस्ताव ल्याउँदा पूर्व मुख्यमन्त्रीले प्रस्तावलाई देशद्रोही बताएको दाबी गर्दै अहिले पवन चामलिङले गरेको सिक्किम बचाऔँ अभियान केवल नाटक मात्र रहेको राईले बताए।
राज्यको बहुसंख्यक समुदायको सीट पुनर्बहालीको प्रस्तावलाई देशद्रोही बताएर पवन चामलिङले नेपाली जातिको जरा उखेल्ने काम गरेको आरोप लगाउँदै राजनैतिक अधिकार बचाउन काम नगर्ने पवन चामलिङले कसरी सिक्किम बचाऔँको कुरा गर्छन् भन्ने प्रश्न गरेका छन्।
सिक्किम विधानसभामा लिम्बू-तामाङ (एलटी) सीट आरक्षण मुद्दालाई लिएर पनि एसआरपी इमान्दार रहेको केबी राईले बताए। पूर्व र वर्तमान सरकार दुवै इमान्दार नभएका कारण लिम्बू-तामाङ समुदाय विधानसभामा सीट पाउनबाट अहिलेसम्म वञ्चित रहेका केबी राईको भनाइ छ। लिम्बू-तामाङ समुदायको सीट आरक्षणका लागि जनप्रतिनिधित्व ऐन (संशोधित) १९८० लाई २०२६ को निर्वाचन क्षेत्र सीमाङ्कन अघि संशोधन गरिनु आवश्यक रहेको तर सिक्किम सरकारको पक्षबाट कुनै पहल नभएका कारण लिम्बू-तामाङले सीट पाउन नसकेका केबी राईले ठहर गरेका छन्।
एलटी सीट र सिक्किम विधानसभामा नेपाली समुदायको सीट पुनर्बहाली बारे यदि नयाँ राजनैतिक समिकरण बनाएर अघि बढ्ने निर्णय हुन्छ भने त्यबारे एसआरपी पूर्ण तयार रहेको बताउँदै एसआरपी अध्यक्ष केबी राईले अब पार्टीले सिब्ल्याक नेताहरू चर्चा गर्ने क्रमलाई अघि बढाउने जानकारी दिएका छन्।