गेजिङ: एसडीएफ पार्टीले पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत चारवटा समष्टिका युवाहरूको विशेष समन्वय सभा सोमवार सम्पन्न गरेको छ। पश्चिम जिल्ला पार्टी प्रभारी सतीशमोहन प्रधानको अध्यक्षतामा तथा गेजिङ जिल्ला पार्टी कार्यालयमा सम्पन्न सभामा पार्टीका उपाध्यक्ष डा. एडी सुब्बा, पश्चिम जिल्ला उपाध्यक्ष प्रभारी टासी ग्याछो भोटिया, पार्टी उपाध्यक्ष जेबी दर्नाल, युवा प्रभारी रबिन तामाङ, संगठन महासचिव पीएल सुब्बा, सीएल शर्मा, गेजिङ जिल्ला अध्यक्ष एनबी खड़का, युवा प्रकोष्ठ महासचिव सुमन प्रधान, सोरेङ जिल्ला युवा संयोजक युवराज शर्मालगायत यकशम-टाशिडिङ, याङथाङ. मानेबुङ-देन्ताम अनि गेजिङ बर्मेक चारवटा निर्वाचन क्षेत्रका सि एल ई सी अध्यक्ष, उपाध्यक्ष, युवासंयोजक, युवा उपसंयोजक, चेली संयोजिका, चेली उपसंयोजिका, सचिव, सहसचिवहरूको उपस्थिति रहेको थियो। युवाशक्तिलाई एकजुट गर्ने अभियानलाई एसडीएफ पार्टीले निकै प्रमुखता दिएको देखिएको छ।

राम भण्डारीको संचालन तथा विशाल राईको स्वागत भाषणबाट शुरु भएको सभालाई सम्बोधन गर्दै युवाहरूले सिक्किमलाई अहिले पनि एसडीएफ-को खाँचो रहेको तथा पवन चामलिङको नेतृत्वमा काम गर्नु गर्व र भाग्यको कुरा रहेको बताएका थिए। गत 3 अक्टोबरको मध्यराति आएको विनाशकारी बाढ र राज्यका मुख्यमन्त्रीले दिएको बयानको सन्दर्भ उल्लेख गर्दै जिल्ला युवा प्रभारी रबिन तामाङले मुख्यमन्त्रीको फोन स्वीचअफ हुनु भनेको राज्य स्विचअफ हुनु रहेको बताए। एसडीएफ पार्टी अनुशासित पार्टी रहेको कारण नै २५ वर्षसम्म सफलतापूर्वक सरकार संचालन गरेको पनि तामाङले युवाहरूलाई जानकारी गराए। अर्कोतिर, संगठन महासचिव पीएल सुब्बाले आफ्नो सम्बोधन राख्दै वर्तमान सरकार प्रत्येक क्षेत्रमा असफल रहेको बताउँदै सरकारले घोषणा-पत्रमा उल्लेख गरेका कुनै पनि कार्य पूरा गर्न नसकेको आरोप लगाए। आफ्नो अध्यक्षीय सम्बोधनमा पश्चिम जिल्ला एसडीएफ प्रभारी सतीशमोहन प्रधानले सिक्किमको भविष्य युवाहरूको हातमा रहेको बताए।

२४ को लडाइँ भविष्य निर्माणको लडाइँ रहेको बताउँदै प्रधानले सामूहिक लडाइँ लड्न युवाहरूमा आह्वान पनि गरेका थिए। सभालाई पार्टीका उपाध्यक्ष तथा प्रवक्ता जेबी दर्नाल, टाशी ग्यात्सो भोटिया, दिपेन गुरुङ, बिनिता राई, मणिकुमार राई, सुमित्रा राई, आइतमान सुब्बा, केशव गुरुङ, अर्जुन थापा, सुमन प्रधानलगायतले सम्बोधन गरेका थिए।