नयाँ दिल्ली: केन्द्रीय गृह मन्त्री तथा सहकारिता मन्त्री अमित शाहले बुधबार, ८ नोभेम्बरमा आईसीएआर कन्भेन्सन सेन्टर, पुसा, नयाँ दिल्लीमा राष्ट्रिय सहकारी अर्ग्यानिक लिमिटेड (एनसीओएल)द्वारा आयोजित जैविक उत्पादको प्रवर्द्धनसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्नेछन्। गृहमन्त्री अमित शाहले एनसीओएलको लोगो, वेबसाइट र ब्रोसर पनि लन्च गर्नेछन् र एनसीओएल सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गर्नेछन्। एकदिने गोष्ठीमा एनसीओएलको उद्देश्य, जैविक उत्पादको महत्त्व र साना तथा सीमान्तकृत किसानको उत्थानमा सहकारी संस्थाको भूमिका लगायतका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी जीको ‘सहकार से समृद्धि’को दृष्टिकोण अनुरूप, एनसीओएललाई जैविक उत्पादहरूमा भारतलाई वैश्विक अगुवा बनाउन राष्ट्रिय स्तरको बहु-राज्य सहकारी समितिको रूपमा स्थापित गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेतृत्व र सहकारिता मन्त्री अमित शाहको सक्षम मार्गदर्शनमा सहकारिता मन्त्रालयले देशमा सहकारी आन्दोलनलाई सुदृढ पार्नका लागि गत २७ महिनामा ५४ पहल गरेको छ। जैविक उत्पादनलाई प्रवर्द्धन गर्नका लागि राष्ट्रिय स्तरको सहकारी संस्थाको स्थापना ग्रामीण अर्थतन्त्रलाई बढावा दिन, मेक इन इण्डियालाई प्रवर्द्धन गर्नका साथसाथै र आत्मनिर्भर भारत र लोकल टू ग्लोबलको लागि मार्ग प्रशस्त गर्ने एक महत्त्वपूर्ण कदम हो।
एनसीओएलले जैविक किसान र उत्पादक संस्थाहरूलाई बजारसम्म प्रत्यक्ष पहुँच प्रदान गर्दै उत्पादमा प्रतिफल बढाउने लक्ष्य राखेको छ। बलियो ब्राण्ड अन्तर्गत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच प्राप्त गर्न, सदस्यहरूले आफ्नो जैविक उत्पादको लागि राम्रो प्रतिफल प्राप्त गर्नेछन्। एनसीओएलले ‘सरकारको सम्पूर्ण दृष्टिकोण’को पालना गर्दै भारत सरकारका सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यमा देशभरिका विभिन्न सहकारी समिति र सम्बन्धित संस्थाहरूद्वारा उत्पादित जैविक उत्पादहरूको सम्पूर्ण आपूर्ति शृङ्खलाको व्यवस्थापन गरी एक छाता सङ्गठनको रूपमा काम गर्नेछ। यो सहकारी समितिद्वारा उत्पादित जैविक वस्तुहरुको एकत्रीकरण, ब्राण्डिङ र बजार विपणन गर्ने कार्यलाई निरन्तरता दिनेछ। कुनै पनि सहकारी समिति वा व्यक्तिहरूको संघ (केन्द्रीय रजिस्ट्रारले अनुमति दिए अनुसार) एनसीओएलको सदस्य बन्न सक्नेछन्। हालसम्म करिब दुई हजार सहकारी समितिहरू एनसीओएलको सदस्य भइसकेका छन् वा सदस्यताका लागि आवेदन दिएका छन्।
एनसीओएलको उद्देश्य ज्ञान भण्डारको निर्माण र अनुसन्धान एवं विकास आयोजन गर्ने सहित विभिन्न गतिविधिहरूको सहजीकरणको माध्यमद्वारात हासिल गरिनेछ। एनसीओएलले जैविक उत्पादको उत्पादनमा संलग्न सहकारी क्षेत्र र सम्बद्ध कम्पनीहरूलाई पनि सहयोग प्रदान गर्नेछ। यसमा वित्तपोषण, क्षमता निर्माण, प्राविधिक मार्गदर्शन, बजार खुफिया प्रणालीको स्थापना र रखरखाउ लगायतका कार्यहरू सामेल हुनेछन्। गोष्ठीमा जैविक उत्पादन- समयको आवश्यकता, जैविक उत्पादका लागि प्रमाणीकरण प्रक्रिया र मापदण्ड, जैविक प्रमाणीकरण प्रयोगशालाको महत्त्व आदि जस्ता विषयहरूमा प्राविधिक सत्रहरू पनि हुनेछन्। एनसीओएलका सदस्यहरू, भारत सरकार/राज्य/केन्द्र शासित प्रदेशहरू, एमएससीएस/एफआई/सहकारी सङ्घहरू/जिल्ला सहकारी संघहरू/जैविक प्रमाणीकरण निकायहरू र परीक्षण प्रयोगशालाहरूका अधिकारी, जैविक क्षेत्रका विशेषज्ञहरू र अन्यहरू सहित एक हजार भन्दा बढी देशभरिका सरोकारवालाले गोष्ठीमा भाग लिन जाँदैछन्। भर्चुअल माध्यमबाट पनि ठूलो संख्यामा सहभागीहरू कार्यक्रममा सामेल हुनेछन्।
एनसीओएललाई २५ जनवरी, २०२३ मा बहु-राज्य सहकारी समिति ऐन, २००२ अन्तर्गत दर्ता गरिएको थियो। देशका तीन प्रमुख सहकारी समितिहरू- भारतीय राष्ट्रिय सहकारी उपभोक्ता महासङ्घ लिमिटेड (एनसीसीएफ), गुजरात सहकारी दूध मार्केटिङ फेडरेशन लिमिटेड (जीसीएमएणएफ) र नेशनल एग्रिकल्चरल कोअपरेटिभ मार्केटिङ फेडेरेशन अफ् इण्डिया लिमिटेड (एनएएफईडी) र भारत सरकारका दुई प्रमुख वैधानिक निकाय राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) र राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी)ले संयुक्त रूपमा एनसीओएललाई बढ़ावा दिएका छन्। -पीआईबी