जयगाउँः भयावह टिस्टा त्रासदीको घटनाले आज ठ्याक्कै महीना दिन नाघेको छ। उक्त त्रासदीले प्रायः सय भन्दा अधिक मानिसलाई कालको गाँस बनाएको छ भने हजारौँ परिवारहरू उजाड़िएका छन्। उक्त भयावह टिस्टाको बाढ़ीमा कतिपय भारतीय सेनाका जवानहरूको अझै पनि केही पतो चलेको छैन भने वाहनसँगै बाढ़को भेलमा छोपिएकाहरूको अझै पनि खोजी जारी छ। मालवाहक ट्रक लिएर सिक्किमको सिङतामको सिरवानी पुगेका जयगाउँ खोक्ला बस्तीको नाला सड़क थापा टोल निवासी विकास छेत्री उमेर ३३ को पनि यही टिस्टा त्रासदीमा निखोज बनेको थियो। पेशाले चालक विकास छेत्री ट्रकसितै भेलमा बेपता बनेको पुष्टि प्रत्यक्षदर्शी साथीहरूले गरेपछि तिनी अब फर्केर नआउने सन्देश यता विकासको पत्नी सिता छेत्रीलाई ट्रकको मालिक मार्फत दिईएको थियो।

निश्चित रुपमा विकास छेत्रीको मृत्यु भएको पुष्टि भए्पछि तिनको पुतला शव बनाएर अन्तिम संस्कार पनि गरिएको मृतकको पत्नी सिता छेत्री र दाजुले जनाएका छन्। घरमा कमाएर दिने लोग्नेको ज्यान टिस्टा त्रासदीमा गुमेपछि हाल विधवा सिता छेत्री र दुई सा-साना छोरी असहाय बनेका छन्। वाहनको मालिकले केही मदत साथै गाउँलेहरूले सहयोगिताको हात बढ़ाएता पनि राज्य सरकारले दिने भनेको तीन लाखको क्षतिपूर्ति कुरेर बसेकी छन् विधवा सिता छेत्री। लोग्ने नरहेपछि दुईवटा कन्या सन्तानसित सानो दोकान थापेर दिन बिताउन बाध्य बनेकी छन्। दुईवटा छोरी छोड़ेर कतै काम गर्न जान पनि नसक्ने र छोरीहरूको मुख हेरेर घरमा बस्न बाध्यता आइपरेको असहाय सिता छेत्री बताउँछिन्। राज्य सरकारले दिने भनेको ३ लाख रुपियाँको क्षतिपूर्ति पाए यसले केही गर्ने आशा राखेको र यसको निम्ति कागजपत्र जोगाड़ गर्न दौड़धुप गरिरहेकी विधवा सिता छेत्रीले जनाएकी छन्। यता गाउँलेहरूले पनि मृतक विकास छेत्रीको विधवा पत्नी सिता छेत्री र परिवारको निम्ति सक्दो मदत गरिरहेको जनाएका छन् भने सरकारबाट क्षतिपूर्ति पाए असहाय सिता छेत्रीलाई धेरै ठूलो सहारा पुग्ने गाउँलेहरूले जनाएका छन्।