पर्यटकका लागि नेपाल र भियतनामबीच थप २ चार्टर्ड उडान हुँदै

optimize.jpeg

काठमाडौं: नेपाल र भियतनामबीच पर्यटक आउजाउका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ।
यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौं रुटमा उडान गरेको थियो। ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ। पहिलो योजना सफल भएसँगै कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी सन् २०२४ मा थप दुई चार्टर्ड उडान गर्न लागेको जनाएको छ। कम्पनीका अनुसार २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान हुने भएको छ। यसअघिको उडानमा काठमाडौं–भियतनाम भ्रमणको प्याकेज मूल्य १ लाख २० हजार तोकिएको थियो।आगामी उडान भने ९९ हजार ९ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउने गरी प्याकेज तोकिएको कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए। उनका अनुसार यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ। यसअघि सम्पन्न उडान सामान्य चार्टर्ड उडान मात्र नभएर नेपाल र भियतनामबीच एक साथ ठूलो संख्यामा पर्यटक आदान प्रदानको पहिलो अवसर भएको उनको भनाइ छ। यो भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको सफल परीक्षण रहेको समेत उनले बताए। एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोइको पाँच दिने भ्रमण गरेका थिए ।भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरेका थिए।
नेपाल र भियतनामबीच ३ घण्टाको सोझो उडान दूरी रहेको छ। ‘हामीलाई आर्थिक रुपमा यी उडान मुनाफा योग्य छैनन्। तर, हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं,’ उनले भनेका छन्, ‘हामी यसमा अपेक्षाकृत सफल रह्यौं। नेपालको पर्यटकीय स्थानबारे भियतनामसम्म प्रवर्द्धन गर्‍यौं।’ १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मावलम्बी रहेको देश भियतनाममा लुम्बिनीमा बुद्ध जन्मेको प्रचार गरेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement