खरसाङ: नमस्ते खरसाङको योजनामा भईरहेको नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको क्वाटर फाइनल सम्पन्न भएको छ। यस क्वाटर फाईनलमा जम्मा १४ जनाले आफ्नो आफ्नो प्रस्तुति दिएपछि निर्णायकहरूका निर्णय अनुसार सेमी फाइनल राउण्डके लागि १० जना प्रतियोगीहरू चयन भएका छन्। समाचार वाचक विश्व सुब्बा र वाचिका सुप्रिना गिरीले सञ्चालन गरेको नमस्ते आईडल गायन प्रतियोगिताको क्वाटर फाइनलको लागि निर्णायकहरूमा वरिष्ठ संगीतकार सहदेव चामलिङ, संगीतकार उपेन्द्र प्रधान र लोक गायिका सुचिता खाती रहेका छन् भने यसपाली अतिथि निर्णायकको रूपमा गायिका रिता गुरुङ उपस्थित थिइन्। त्यसरी नै यस गायन प्रतियोगितामा ग्राण्ड मास्टरको रूपमा वरिष्ठ संगीतकार, संगीत संयोजक र वरिष्ठ गायक महेश्वर तामाङ उपस्थित थिए। निर्णायकहरूको निर्णय अनुसार क्वाटर फाइनलमा १४ जनाको प्रस्तुतिपछि १० जना प्रतियोगीहरूलाई सेमी फाइनलको लागि चयन गरिएको छ। अब आगामी 8 नोभेम्बरको दिन हुने सेमी फाइनलमा १० जना प्रतियोगीहरूले हिन्दी र नेपाली संगीत क्षेत्रका कलाकारहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै प्रस्तुति दिने भएको छ। नमस्ते आईडल सिजन एक गायन प्रतियोगिताको फाइनल आगामी ६ नोभेम्बरको दिन हुने भएको छ भने फाइनलमा ५ जना प्रतियोगीहरूलाई चयन गरिने भएको छ। नमस्ते आईडल गायन प्रतियोगिता सिजन एकको विजेतालाई आकर्षक ट्रफिसहित २५ हजार नगद राशि, दोस्रोलाई आकर्षक ट्रफीसहित ११ हजार र तेस्रो हुनेलाई ट्रफीसहित ६ हजार नगदराशि प्रदान गरिने भएको जानकारी नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले दिएका छन्। उनले बताए अनुसार नमस्ते खरसाङको तर्फबाट पहिले हुनेलाई मात्रै ट्रफीसहित २५ हजार प्रदान गरिने घोषणा गरिएको थियो। तर नमस्ते खरसाङको शुभचिन्तकहरूले सहयोग गरेको कारणले अब दोस्रो र तेस्रो हुनेलाई पनि ट्रफीसहित नगदराशि प्रदान गरिने बताएका छन्। उनले बताए अनुसार नमस्ते खरसाङको एकजना शुभचिन्तक मंगलसिंह लामा ग्याबाकको अमेरिकामा रहेकी छोरी ज्वाईले ११ हजार प्रदान गरिएकोले त्यो दोस्रो हुनेलाई सोझै प्रदान गरिने भएको बताका छन्। त्यसरी नै मेलोडी म्युजिक स्टुडियो खरसाङबाट महेश्वर तामाङकी पत्नी मिङमा तामाङले 5 हजार दिइएकोले तेस्रो हुनेलाई उक्त ५ हजारसहित ट्रफी प्रदान गरिने साथै अन्य सबैलाई ट्रफी प्रदान गरिने बताएका छन्।