गान्तोक: हाम्रो वार्ता टेलिभिजनको प्रस्तुतिमा आयोजित सिक्किम बीटबक्स कम्यूनिटीले आज राजधानीस्थित मनन केन्द्रमा हिमालयन बीटबक्स च्याम्पियनशीप आयोजना गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथीकोरूपमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ उपस्थित रहेका थिए। मनन केन्द्रमा आयोजना भएको यस प्रतियोगितामा सिक्किमलगायत पूर्वोत्तर भारतका सबै राज्य साथै देशका विभिन्न प्रमुख शहर र छिमेकी राष्ट्र भुटानबाट पनि बीटबक्सरहरूले भाग लिएका थिए। सिक्किम बीटबक्सर कम्यूनिटीका अध्यक्ष पेम्बा सिङ्गी लामाकाअनुसार यो प्रतियोगिता पूर्वोत्तर भारतकै सबैभन्दा ठूलो बीटबक्स प्रतियोगिता हो।
बीटबक्स आधुनिक सङ्गीतको एउटा प्रारुप हो, जसमा मुखबाट भिन्न-भिन्न आवाज निकालेर सङ्गीतवद्ध गरिन्छ। बीटबक्सलाई लिएर सर्वसाधरणमा कतिपय गलत धारणाहरू रहेकोले त्यसलाई समाप्त गर्नको साथै नशालु पदार्थ सेवन विरुद्ध जागरुकता ल्याउनु पनि यो च्याम्पियनशीपको प्रमुख उद्देश्य रहेको आयोजकपक्षको भनाइ रहेको छ। यसका साथै हाल बिमारी अवस्थामा रहेका आफूहरूका एक साथी ललन कुमारको उपचारको लागि सहयोग राशि सङ्ग्रह गर्नु पनि यो कार्यक्रम आयोजना गरिएको उनले थप बताए। आजको प्रतियोगितामा सिक्किमका चर्चित कलाकार युएनबीको पनि विशेष उपस्थिति रहेको थियो। अध्यक्ष लामाले जानकारी गराएअनुसार आज आयोजित हिमालय बीटबक्स च्याम्पियनशीपको दोस्रो संस्करण हो।