सिब्ल्याकको पाँचौं वार्षिक सम्मेलन सम्पन्न

IMG-20231105-WA0218.jpg

गान्तोक: सिक्किमको भोटिया लेप्चा समुदायको शीर्षस्थ सङ्गठन सिक्किम भोटिया लेप्चा एपेक्स कमिटी (सिब्ल्याक) को पाँचौं वार्षिक सम्मेलन आज राजधानीको चिन्तन भवनमा सम्पन्न भयो। आजको सम्मेलनले चारवटा प्रस्ताव पारित गरेको छ जसमा राज्यमा अबदेखि पारिस्थितिकी रुपमा हानिकारिक ठूला-ठूला बाँधहरू निर्माण नगर्ने, हालको टिस्टा जलप्रलयको सन्दर्भमा चुङ्गथाङस्थित सिक्किम ऊर्जा लिमिटेड पनबिजुली परियोजनाको बाँधको गुणस्तरको सीबीआइ जाँचको लागि सु-मोटो कार्यवाहीको अनुरोध गर्दै सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीशलाई ज्ञापन बुझाइने, टिस्टा बाड़ पीड़ितहरूको राहत र पुनर्वासमा निस्पक्षता अप्नाउनुको साथै प्रभावित क्षेत्रहरूको विकासका लागि गुरू योजना तयार पारेर त्यसलाई निश्चित समय भित्रमा कार्यान्वयन गरिनुपर्ने र गत वर्ष सिब्ल्याक-को चौथो सम्मेलनमा पारित गरिएका सबै प्रस्तावहरूलाई पूरा गरिनुपर्ने रहेको छ। यसको साथै आज नै सङ्गठनको न्यायिक कमिटी पनि गठन गरियो जसको संयोजकका रुपमा वरिष्ट अधिवक्त जोर्गे नाम्खालाई सर्वसम्मतिले मनोनित गरेको छ।

सम्मेलनलाई सम्बोधन गर्दै सिब्ल्याकका संयोजक छितेन टाशी भोटियाले हाल सिक्किममा अल्पसङ्ख्यक भोटिया र लेप्चा समुदायको हक र अधिकारहरूको हनन भइरहेको दावी गरे। यस सन्दर्भमा उनले एसकेएम सरकारको कड़ा आलोचना पनि गरे। सम्मेलनमा अन्यहरूका साथमा राज्य सरकारका मन्त्री कर्मा लोडे भोटिया र राज्यसभा सांसद हिस्से लाचुङ्गपा साथै राजकुमार जिग्मी वाङ्गचुक र पूर्व भारतीय फुटबल कप्तान तथा हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाको पनि विशेष उपस्थिति रहेको थियो।

आफ्नो सम्बोधनको क्रममा मन्त्री भोटियाले राज्य विधानसभाको आसन सङ्ख्यामा बड़ोत्तरी भएको खण्डमा बीएल-को आरक्षित आसन पनि समानुपातिक रुपमा बड़नुपर्ने कुरामा जोर दिए। यसको साथै उनले राज्यमा अनुप्रवेशलाई रोक्न इन्नर लाइन पर्मिट जारी गरिनुपर्ने मागको पनि समर्थन जनाए। यसरी नै राज्यसभा सांसद लाचुङ्गपाले भोटिया लेप्चा समुदायमा एकता र सहकार्यको भावना विकसित हुनपर्ने बताउनुभयो।

सम्मेलनलाई सिक्किम सरकारका अतिरिक्त महाधिवक्ता डा. डोमा भोटिया, पूर्व मन्त्री वाङ्गदी छिरिङि लोप्चा, पर्यावरण कार्यकर्ता ग्याछो लेप्चा साथै अन्यले पनि सम्बोधन गरे। सम्मेलनमा राज्यमा भोटिया लेप्चा समुदायको घट्दो अनि अन्य समुदायको अप्रत्यासित रुपमा बड़दो जनसङ्ख्यामाथि पनि चिन्ता व्यक्त गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement